नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आर्थिक सहयोगका लागि अपिल गरेकी छन् । आफ्नो घुँडाको पुन: जटिल शल्यक्रिया गर्नुपर्ने र आर्थिक समस्या रहेको भन्दै साम्बाले सहयोगको अपिल गरेकी हुन् । चोटका कारण आफू सात हप्तादेखि मैदानबाहिर रहेको समेत उनको भनाइ छ ।
‘सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो शुरू गरेको केही समय बितिसक्ने थियो । तर अझै पनि म उपचारको लागि भौतारिएको छु’, साम्बाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।
उनले आफ्नो घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको बताएकी छन् । ‘पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । त्यसबेला आर्थिक र मानसिक रूपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकेँ’, उनले लेखेकी छन्, ‘तर यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन । चोट लागेको ३ सातापछिका लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भए पनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो । तर सोअनुसार एन्फाबाट प्रक्रिया अघि बढेन ।’
पटक-पटक प्रयास गर्दा पनि एन्फाका अधिकारीसँग सम्पर्क गर्न कठिन भएको भण्डारीको भनाइ छ । अघिल्लो साता एन्फा अध्यक्ष आफैंले उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिएको उनले बताएकी छन् । ‘उहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफै गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरि प्रयास गर्नुपर्ने भएको छ’, उनले लेखेकी छन्, ‘यसबीचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ । तर मेरो चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले मैले पुन: सोही अस्पतालमा उपचार गराउने इच्छा राखेको हुँ । क्लबले बीमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ । तर उक्त रकम मेरो शल्यक्रिया र ७-८ महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेको छु । यसका लागि कूल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आँकलन रहेको छ ।’
आफू बाहिर रहेकाले सरकारसमक्ष पनि आफ्नो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका साम्बाले जानकारी गराएकी छन् । तर सरकारी प्रक्रिया अपेक्षा गरेअनुसार अघि बढ्न नसक्दा शल्यक्रिया नगरी भर गर्ने स्थिति नरहेको उनको भनाइ छ । ‘मेरो लागि यो आफ्नो करियरको सबैभन्दा कठिन लडाइँ भएको छ । मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आमसमर्थकहरू नै हुनुहुन्छ’, साम्बाले भनेकी छन्, ‘एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु । तर मैले देशको लागि सधैं शतप्रतिशत दिएको छु र आउने दिनमा पनि देशको लागि खेल्न तत्पर छु । इजरायल होस् या फ्रान्स, मैले सधैं नेपालकै नाम राखेको महसुस भएको छ । यहाँ न्युजिल्यान्ड र अष्ट्रेलियामा खेल्दा पनि मैले व्यक्तिगतभन्दा पनि राष्ट्रको पहिचान बोकेको ठानेको छु ।’