भारतले जित्यो ‘साफ यू-१९ महिला च्याम्पियनसिप’को उपाधि

Yangle News
Yangle News
२०८२ माघ २४ गते
भारतले जित्यो ‘साफ यू-१९ महिला च्याम्पियनसिप’को उपाधि

पोखरामा सञ्चालन भएको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । पोखरास्थित अन्तर्राष्ट्रिय फुटबल रंगशालामा आज सम्पन्न फाइनल खेलमा साविक विजेता बंगलादेशमाथि ४–० को फराकिलो अन्तरको जित निकाल्दै भारत च्याम्पियन बनेको हो ।

भारतले खेलको पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । खेलको ४२औं मिनेटमा कप्तान जुलान नोङमेथेमले गोल गरेर अग्रता बनाएकी हुन् । एलिजावेद लार्काले ६३औं मिनेटमा अग्रता बनाएकी थिइन् ।

भारतले खेलको ६८औं मिनेटमा पेनाल्टी पायो । बंगलादेशकी गोलकिपर बेगमले पेनाल्टी क्षेत्रमा विपक्षी खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा पर्ल फर्नान्डेजले गोल गरेकी थिइन् । यसैगरी अन्विता रघुरामनले ८३औं मिनेटमा गोल गरेपछि भारतले फराकिलो अन्तरको जित निकाल्न सफल भयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि बंगलादेशकी अल्पी अक्तरले पाएकी छन् । उत्कृष्ट गोल रक्षक भारतकी मुन्नी बन्दा फेयर प्ले अवार्ड भारतले पाएको छ । यही माघ १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान गरी चार टोलीको सहभागिता थियो ।

नेपाल भने समूह चरणमा अंक तालिकाको तेश्रो स्थानमा सीमित बन्यो । अर्को सहभागी टोली भुटान पुछारमा रह्यो ।

Yangle News