भारत-पाकिस्तान युद्धपछि नेपालमा सुरक्षा समिति बैठक

Yangle News
Yangle News
२०८२ बैशाख २४ गते
भारत-पाकिस्तान युद्धपछि नेपालमा सुरक्षा समिति बैठक

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो ।

भारत-पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षा लगायतका विषयमा बैठकमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।

मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल-भारत सीमा र विमानस्थल लगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए ।

भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित घटनाक्रम र त्यसले नेपाललाई पार्नसक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए ।

‘आन्तरिक सुरक्षातर्फ गर्नुपर्ने थप तयारी, समन्वय र सूचना आदानप्रदान लगायतका विषयमा कुराकानी भएको छ,’ प्रवक्ता तिवारीले भने, ‘सीमानाकादेखि विमानस्थलसम्मको  सुरक्षा व्यवस्थामा विशेष निगरानीसहित चुस्तदुरुस्त बनाउने, राष्ट्रिय तथा आन्तरिक सुरक्षा व्यवस्था सुनिश्चित तुल्याउने, सम्भावित चुनौतीको सामना गर्नेलगायत समसामयिक विषयमा बैठकमा छलफल भएको छ ।’