सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्या समाधानका लागि राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूसँग लिखित सुझाव माग्ने भएको छ ।
मंगलबार सहकारी छानबिन विशेष समितिले राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीसँग सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा छलफलपछि सुझावका लागि राजनीतिक दलहरुलाई पत्राचार गर्ने निर्णय गरेको हो ।
समितिका संयोजक सूर्य थापाले सहकारी क्षेत्रको बचत अपचलन र ठगी तथा बचत फिर्ताको समस्या सम्बन्धमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूसँग सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको जानकारी दिए ।
सहकारी समस्यालाई जस्ताको तस्तै बुझ्न, तथ्य प्राप्त गर्न, समस्याको प्रवृत्ति विश्लेषण गरी समाधान गर्ने गरी कोशिस जारी रहेको उनले बताए ।