केहि थान शीर्ष नेताहरुको जिद्धिपन र आफू केन्द्रीत मानसिकताका कारण आज देशले यो परिणाम भोग्नु परेको छ । वर्षौसम्म आश्वासन बाँड्दै हरेक पटक जनतालाई घात गरेका दलका कतिपय नेता अझैपनि आत्मालोचना गर्ने मानसिकतामा नदेखिनु दुखद हो ।
विभिन्न राजनीतिक परिवर्तनका बाबजुद डेलिभरी दिन नसकिरहेको व्यवस्था, देशमा ब्याप्त भ्रष्टाचार र बेरोजगारी, वेथिति, नेताहरुको कार्यशैली, निर्णायक तहमा पटकपटक एउटै व्यक्तिको रजाइँ, राज्य संयन्त्रमा सीमित मानिसहरुको हालिमुहाली, सर्वसाधरणको कष्टपूर्ण जीवन र विभेद विरुद्ध जेनजीले विभिन्न माध्यमबाट असन्तुष्टि पोखिरहेका थिए । जन्मदै ईन्टरनेटको माध्यमबाट देशविदेशका घटनाक्रमलाई नियाल्न सक्ने, स्मार्ट फोन चलाउने र सामाजिक सञ्जालमा पहुँच राख्ने सुविधा पाएको यो पुस्ताले यसअघिसम्म आफ्ना असन्तुष्टि आफ्नै सर्कल र विशेषत डिजिटल प्लेटफर्ममा राख्दै आएको थियो । तर सरकारले जब फेसबुक, इन्स्टाग्राम, एक्स लगायतका सामाजिक सञ्जाल एकै पटक बन्द गर्ने निर्णय गर्यो त्यसपछि उनीहरुको असन्तुष्टि, डिजिटल प्लेटफर्मबाट सिँधै सडकमा आयो । भ्रष्टाचार विरुद्ध जेनजीहरूले सामाजिक सञ्जाल मार्फत जेहाद नै छेडे । दुईदिनको सडक प्रदर्शनका क्रममा ५२ जनाको मृत्यु भयो, एक हजारबढि घाईते भए भने थप क्षति के के भए हामीमाझ छन् । तर त्यसपछिको घटनाक्रम र अभियान थाहा पाउन सोसल मिडियामा तरंग नै आयो । सबैको आआफ्ना खाले बुझाइ र प्रतिक्रियाको बाढी सामाजिक सञ्जालमा आयो ।
पछिल्लो विकसित घटनाक्रममा हामी जसरी सामाजिक सञ्जालहरुमा पोखिइँरहेका छौ, त्यसले नेता जनताका प्रतिबिम्ब हुन, भन्ने कुराहरुलाई झनै प्रष्ट पारेको छ । हामीलाई आफूबाहेक अरु कोही ठिक लाग्दैन, जुन मानसिकता आफैमा घातक छ । आफू र आफ्नो “मान्छे भए ठिक, बाँकी सबै खत्तम”, भन्ने सोचले अरुको अस्तित्वलाई स्वीकार्दैन, र यसले अन्तत विनास निम्त्याउँछ ।
हामीमा धैर्यताको चरम अभाव छ । जेनजीको आन्दोलनका कारण राष्ट्रपति सहित दलका नेताहरुकै ज्यूज्यानको सुरक्षाका लागि नेपाली सेनाले उनीहरुलाई सुरक्षित स्थानमा राख्यो । आन्दोलनका कारण देशका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सहित अन्य प्रशासनिक संयन्त्रले काम गर्न नसकेको र प्रहरी प्रशासनले पनि हात उठाएको अवस्थामा शान्ति सुरक्षा कायम गर्ने दायित्व बोकेको एक मात्र संवैधानिक अंग नेपाली सेनाले आफ्नो जिम्मेवारी र नैतिक दायित्व पूरा गरिरहेको अवस्था हो । तर यहाँ सेनाले गरेको काम धेरैलाई मन परेन ।
सेनाप्रति लक्षित विभिन्न शंका उपसंका व्याप्त छ । कसैका आफ्ना नेतालाई बाहिर निस्कन दिएन अपहरण नै गर्यो, सुरक्षा चेकिङ गरेकोमा देशमा कू नै गर्यो, कर्फ्यू र निशेधाज्ञाको सूचना निकाल्दा सिडिओले गर्ने काम गर्यो, राजतन्त्र ल्याउन भूमिका खेल्यो भन्ने आरोपहरु सञ्जालमा देख्न पाइन्छ । मलाई जहाँसम्म लाग्छ नेपालको लोकतान्त्रिक व्यवस्था वमोजिम बनेको नेपाली सेनाले ईतिहासमा धेरैवटा यस्ता आन्दोलनपछिको संक्रमणकालीन अवस्थामा जनभावना विपरीत काम गरेको छैन र गर्नेछैन् ।
त्यस्तै जेनजीले अन्तरिम सरकारको प्रमुखकालागि अघि सारेकी पूर्वप्रधानन्यायधीश शुसिला कार्की हुन या अहिले जेनजीको एउटा समूहको नेतृत्व गरिरहेका सुदन गुरुङ केहीलाई उनीहरुको कदममा पनि शंसय छ । विवादमा मुछ्न प्रयास गरिरहेकै छन् ।
हुन त पछिल्ला वर्षहरुमा हाम्रो समाज र राजनीतिले कुनै पनि व्यत्तिलाई विश्वास गरिहालौ न त भन्ने वातावरण नै दिएको छैन् । जनता पटकपटक ढाटिएका छन्, ठगिएका छन् । त्यहि भएर पनि होला, हामीमा विश्वासको तह शून्यप्राय छ । देश विषम परिस्थितमा रहेका बेला मिडिया ट्रायल, झुटा प्रचार, प्रोपोगान्डा, मौकाको फाइदा उठाउने नयाँ भनिएका दल र केहि समूहहरु ब्यापक रुपमा अगाडी आए । शंका गर्ने छुट सबैलाई छ, तर त्यसैलाई जनमत सृजना गर्ने माध्यम र विषयलाई अतिरञ्जित नबनाइयोस् जसले अहिलेको अवस्थालाई झन जटिलतातर्फ उन्मुख गराउँछ । मिडिया ट्रायल यस्ता विषयहरु र संस्थाहरुको विरुद्ध भईदिदा जनमानसमा असन्तुष्टि बढ्छ, जसले बिस्तारै लयमा फर्कन थालेको अवस्थालाई भड्काउने बाहेक अरु केहि उपलब्धि हासिल हुँदैन ।
आन्दोलन लगत्तै २४ घण्टामा डिजिटल सर्वेक्षण गरी अन्तरिम सरकारको नेतृत्वकर्ताको नाम समेत दिईसकेको जेनजी समूहलाई धन्यवाद नभनी कसरी उनीहरुकै विरुद्ध विष ओकल्न सक्छौ हामी ? हाम्रो पुस्ताले रमित हेरेरै दशक बिताईदियो, के जेनजीले उठाएका मुद्धा तपाई हाम्रा मुद्दा होइन्न ?
आन्दोलनका क्रममा निजी आवास, देशका महत्वपूर्ण प्रशासनिक अंगका भवन र भौतिक संरचनामा क्षति हुनु नीन्दनीय छ । यस विषयमा छानविन गरी जसले गरेको भए पनि दोषीलाई कारबाही गर्नुपर्छ , तर अझै पनि हामी जेनजी आन्दोलनले सार्वजनिक सम्पत्तिको भौतिक क्षति मात्रै गरायो, आन्दोलनले गर्दा हामी शून्यमा गयौ, देश बर्वाद भयो भन्ने मात्रै बुझ्छौ र त्यसैका आधारमा धारणा बनाउँछौ भने अब जेनजीभन्दा जेठो पुस्ता, तपाइँ हामी पनि सबै सच्चिनु पर्छ ।
देशमा यस्तै खालीपन लामो समय रह्यो भने के सम्म हुनसक्छ भन्ने कुराको आंकलन हामीले विश्वका अन्य देशहरुको घटनाक्रमबाट थाहा पाएका छौ । अहिले जे भईरहेको छ, यसले भोलिका हाम्रा छोराछोरीको भविष्य कोरिरहेको छ । यसलाई हामीले अवसरका रुपमा लिएर संयमित भएर अगाडी बढेनौ भने देश झन ठूलो भड्खालोमा फस्ने निश्चित छ । यो कुरा हामीले कति बुझेका छौ ?
विगतमा २०७७ र २०७८ मा दलहरुले बहुमत गुमाउने भय, नेकपा एकीकृत पार्टीभित्रको विवाद र आफू नेतृत्वको सत्तालाई निरन्तरता दिन दुईदुई पटकसम्म संसद विघठन भएको थियो । अहिले ५१ जना भन्दा बढीले आन्दोलनका क्रममा सहादत प्राप्त गरिसकेको अवस्थामा जेनजीको प्रमुख माग मध्येको एक, संसद विघटन गर्यो वा भंग भयो भने हाम्रो संविधान नै ध्वस्त हुने, नरहने जस्ता गलत भाष्य निर्माण भइरहेको छ । देश, काल र परिस्थिति अनुसार संविधान संशोधन गर्न मिल्ने दस्तावेज हो । संविधान संशोधनको प्रशस्त सुविधा हुँदाहुँदै, गरिएको यस्तो प्रचार, विषयवस्तुलाई मिस्लिड गरिएको हो ।
राजनीतिक दलका दोस्रो तहका नेताहरुले पनि अहिलेको अवस्थाको सृजना हाम्रै कारणबाट भएको हो , भन्ने आत्मालोचना गर्दै अहिलेको व्यवस्थाले दिएको कम्फर्ट जोन त्यागेर आफ्नो दलभित्र गर्नुपर्ने सुधार र परिमार्जन गरी ताजा जनादेशमा जाने हिम्मत गर्नुपर्छ । जतिसक्यो चाडो संविधानभित्र रहेर जेनजी सहितको अन्तरिम सरकार गठन गर्ने काममा ढिला गरिनु हुँदैन । जेनजीले उठाएका मागको सम्बोधन गर्दै आम निर्वाचनको मिति तय गर्न अब बन्ने सरकारलाई मार्ग प्रशस्त गर्नुपर्दछ ।
अन्त्यमा देश तरल अवस्थामा रहेको बेला तपाईं हामी सबैले एउटा सच्चा नागरिकको हैसियतले पनि कतिपय कुरामा मौन रहेर धैर्यता अपनाउन सके देशलाई फाइदा गर्छ जस्तो लाग्छ ।