अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको उपाधिका लागि दुई पूर्वविजेता सेनेगल र आयोजक मोरक्कोबीच भिडन्त हुने भएको छ । प्रतियोगिताको यो ३५औं संस्करण हो ।
प्रतियोगिताको सेमिफाइनलमा सेनेगलले इजिप्टलाई १-० गोलले हरायो । इजिप्ट विरुद्धको खेलमा सेनेगलका लागि साडियो मानेले निर्णायक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको ७८औं मिनेटमा उनले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।
मोरक्को भने बलियो प्रतिद्वन्द्वी नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हराउँदै उपाधिनजिक पुगेको हो । पेनाल्टी सुटआउटमा मोरक्कोका गोलकिपर यासिन बुनुले उत्कृष्ट प्रदर्शन गर्दै सामुएल चुक्वुएजे र ब्रुनो ओन्येमेचीका प्रहार रोके । त्यसपछि युसुफ एन नेसिरीले निर्णायक पेनाल्टी गोल गर्दै मोरक्कोलाई फाइनलमा पुर्याए ।
सेनेगल र मोरक्को दुवै अफ्रिका कप अफ नेसन्सका पूर्वविजेता हुन् । यी दुवै टोलीले हालसम्म एक/एक पटक उपाधि जितिसकेका छन् । सेनेगलले सन् २०२१ मा उपाधि जितेको थियो । मोरक्कोले भने सन् १९७६ मा उपाधिमाथि कब्जा जमाएको थियो ।
सेमिफाइनलमा पराजित भएका दुई टोली इजिप्ट र नाइजेरियाबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थानको खेल शनिबार र फाइनल खेल आइतबार खेलाइने तालिका छ ।