भारतले एयरबेसमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै पाकिस्तानले प्रत्याक्रमणको घोषणा गरेको छ । पाकिस्तानले प्रत्याक्रमणको नाम ‘बुनयान-उल-मरसूस’ राखेको छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले ‘बुनयान-मर्सूस’ को नामको जवाफी कारबाही शुरु गरेको जनाएको हो । बुनयान मर्सूसको अर्थ एक दृढ, एकीकृत मोर्चा भन्ने हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यो अपरेसनको नाम कुरानबाट लिइएको हो, यसले राष्ट्रको सुरक्षा गर्न सेनाको एकता, शक्ति र अनुशासनमाथि जोड दिन्छ । इस्लाममा यसलाई एकता, अनुशासन र संकल्पको प्रतिकको रूपमा लिइन्छ ।
सञ्चारमाध्यमका अनुसार यो अपरेसनअन्तर्गत पाकिस्तानले भारतको उधमपुर शहरस्थित एक वायुसेना बेस र पठानकोट स्थित एक एयरफिल्डलाई निशाना बनाएको छ । भारतको एएनआई समाचार एजेन्सीले डिब्बर क्षेत्रमा विस्फोट भएको रिपोर्ट गरिरहेको छ । एएनआईले पोष्ट गरेको भिडियो क्लिपमा विस्फोट भएको भनिएको क्षेत्रबाट धुवाँको मुस्लो उडिरहेको देखिन्छ ।
यसैबीच पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरिफले भारतले पाकिस्तानका तीन वायुसेना अड्डाहरूमा मिसाइल आक्रमण गरेको तर ती सबै संरचना सुरक्षित रहेको दाबी गरेका छन् ।
भारतले रावलपिन्डीको नूर खान एयरबेस, चकवाल सहरको मुरीद एयरबेस र झांग जिल्लास्थित रफीकी एयरबेसमा आक्रमण गरेको हो । शरिफले भारत प्रक्षेपित केही मिसाइल अफगानिस्तान पनि पुगेको दाबी गरे । यसबारे पाकिस्तानसँग प्रमाण रहेको उनको भनाइ छ ।
पाकिस्तानसँगको तनाव चुलिँदै गर्दा भारतका ३२ वटा विमानस्थल अस्थायीरूपमा बन्द गरिएको छ । पाकिस्तानसँग लडाइँ शुरु भएसँगै भारतका उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थल बन्द गरिएको छ ।
सञ्चार माध्यमका अनुसार भारतको विमानस्थल प्राधिकरण र सम्बन्धित हवाई निकायहरूले सूचना जारी गर्दै विमानस्थल बन्द गरेको बताएका छन् । यी विमानस्थलहरूबाट हुने सबै नागरिक उडान मे १५ को बिहान साढे ५ बजेसम्मका लागि बन्द हुनेछन् ।
यता पाकिस्तानले पनि सबै प्रकारका हवाई उडानका लागि आफ्नो आकाशमार्ग बन्द गरिएको घोषणा गरेको छ । तीन वटा हवाई बेसमा भारतीय वायुसेनाले हमला गरेको दाबी पाकिस्तानी पक्षले गरेको केही समयपछि पाकिस्तानको विमानस्थल प्राधिकरणले आफ्नो हवाई क्षेत्र बन्द गरेको हो । तर यो बन्द शनिबार दउँसोका लागि मात्रै हो ।
यसैबीच, जी-७ राष्ट्रहरूले भारत र पाकिस्तानलाई एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेशमन्त्रीहरूले अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । विज्ञप्तिमार्फत उनीहरूले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन् ।