नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार दिउँसो काठमाडौंमा शुरू भएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनलाई महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा उद्घाटन गरे ।
गगनले पानसमा बत्ती बालेर र विश्वप्रकाशले रुखमा जल हालेर महाधिवेशन उद्घाटन गरेका हुन् । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा मञ्च निर्माण गरिएको छ । विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र भृकुटीमण्डपको सभाहलमा हुनेछ ।
विशेष महाधिवेशनमा नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत सहभागी छन् । श्रेष्ठलाई महामन्त्री थापाले मञ्चमा स्वागत गरेका थिए । उद्घाटन समारोहमा पूर्वसभामुख तारानाथ रानाभाट, केन्द्रीय सदस्य महेश आचार्य, भरत साह, चन्द्र भण्डारीलगायत सहभागी छन् ।
पार्टीमा मध्यमार्गी भूमिका खेलेको २५ मध्ये २० केन्द्रीय सदस्य पनि विशेष महाधिवेशनमा सहभागी भएका छन् । संस्थापन समूहका डिला संग्रौला, पुष्पा भुसाल, राजन केसी, उदय शमशेर राणा, देवेन्द्रराज कँडेल लगायत २० केन्द्रीय सदस्य विशेष महाधिवेशनमा सहभागी भएका हुन् ।
डा. शेखर कोइराला पक्षका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि उपस्थित भएका छन् ।