प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झट हटाउन एकल विन्दु सेवा सुरु गरिएको बताएका छन् । नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) ले गरेको नेपाल–चाइना विजनेस फोरम –२०२३ लाई सम्बोधन गर्दै उनले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको पनि दावी गरे ।
जनशक्तिको उपलब्धता, परिमार्जित श्रम कानुन र सुधारिएको औद्योगिक सम्बन्धलगायतका कारण नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको उनले बताए ।नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई तत्कालै सबै प्रकारका सेवा एउटै विन्दुबाट प्राप्त गर्ने अवस्था सिर्जना गर्ने उनले स्पष्ट पारे । मुलुकभित्र पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँ प्रविधिको आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चीन सरकारले त्यसमा सहयोग गर्नेमा विश्वास व्यक्त गरे ।
चीनले कोरोना महामारीपछि आफ्ना नागरिकलाई पर्यटकका रुपमा देशबाहिर जाने अनुमति दिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्रीले भने “नेपाल पनि चिनियाँ पर्यटकलाई स्वागत गर्न आतुर छ ।” चिनियाँ पर्यटकका लागि नेपाललाई चीनले प्राथमिकतामा राखेकाले हाम्रो पर्यटन उद्योगमा राम्रो प्रभावपर्ने उनको भनाइ छ ।
नेपाल र चीनबीच जनस्तरमा बलियो सम्बन्धको विकास हुँदै जानु सकारात्मक भएको प्रधानमन्त्रीको भनाइ छ । दुई मुलुकबीच व्यावसायिक सम्भावना खोज्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने प्रधानमन्त्रीको भनाइ छ । नेपालबाट निर्यात हुने तरकारी, चिया, मासु, आयुर्वेदिक औषधि जस्ता उत्पादनलाई सहजै चीनको बजारमा प्रवेशको सुविधा दिन प्रधानमन्त्री दाहालले आग्रह गरे । व्यापार घाटा कम गर्न पनि त्यस्तो व्यवस्था भएको खण्डमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।
नेपालका लागि चीनका राजदूत छेन साङले नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुप्रसाद अग्रवालले यस्ता फोरमले दुई देशका व्यवसायीबीच समस्या समाधान र आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सिसिपीआईटीका उपाध्यक्ष चाङ साओहाङले चीन नेपालको चीनको असल भएको उल्लेख गर्दै नेपालबाट हुने निर्यात हुने ९८ प्रतिशत वस्तुमा चीनले कर छुट दिएको बताएका छन् ।