श्रम संस्कृति पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । सुनसरीको धरानमा आज पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो ।
सो अवसरमा पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई)ले देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको बताएका छन् । पार्टीको एजेन्डा सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले भने, ‘जनतालाई देश र माटोसँग जोड्नु आवश्यक छ । केवल योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुन्छ । छिटो विकासका लागि श्रमदान अपरिहार्य छ ।’
श्रमदानबाट विकास गर्दा जनता आफैँ संलग्न हुने उनको भनाइ छ । देशको दिगो विकासलाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टी स्थापना गरिएको उनले स्पष्ट पारे । अध्यक्ष राईले भने, ‘पार्टीको उद्देश्य केवल श्रमलाई मूल्यांकन गर्नु मात्र नभई श्रम गर्ने श्रमिकलाई न्याय दिने प्रयास निरन्तर रहिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’
श्रम संस्कृति पार्टीले अहिले विभिन्न जिल्लामा कार्यक्रम गर्दै जिल्ला समिति घोषणा तथा आमसभा गरिरहेको छ ।