दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा

Yangle News
Yangle News
२०८२ कार्तिक १९ गते
दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा

सरकारले दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा गरेको छ । नयाँ मितिअनुसार यसै वर्षको फागुन पहिलो सातामा राष्ट्रिय खेलकुद आयोजना हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधवार बसेको १२३औं बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो । प्रतियोगितामा पूर्वनिर्धारित सबै ३६ खेलमा प्रतिस्पर्धा गराइनेछ ।

बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जितबहादुर केसीलाई २५ लाख रुपैयाँ पुरस्कार दिन मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने राष्ट्रिय खेल संघलाई ३ महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिने, राष्ट्रिय खेल संघ आफैले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिने, खेल संघले वैदेशिक भ्रमणसम्बन्धी प्रतिवेदन राखेपमा पेश गर्न निर्देशन दिनेलगायतको निर्णय गरेको छ ।

राखेपका सदस्य-सचिव टंकलाल घिसिङले सहजीकरण गरेको बैठकमा राखेपका उपाध्यक्ष ध्रव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, बोर्ड सदस्यलगायत उपस्थित थिए ।

गत वर्ष मंसिरमै सुर्खेतलाई केन्द्र बनाएर दशौं राष्ट्रिय खेलकुद हुनुपर्ने थियो । तर सरकार तथा राखेपभित्रको दलीय राजनीतिका कारण राष्ट्रिय खेलकुद पटक-पटक सर्दै आएको थियो । पछिल्लो पटक निवर्तमान मन्त्री तेजुलाल चौधरीले आगामी मंसिरका लागि तोकेको राष्ट्रिय खेलकुद नयाँ मिति समेत नतोकी अनिश्चित कालका लागि स्थगित गरेका थिए ।

Yangle News