धर्ना-प्रदर्शन नगर्नू, घुसपैठ गरेर अराजकता निम्त्याउन सक्छन् : गृह मन्त्रालय

Yangle News
Yangle News
२०८२ कार्तिक ८ गते
धर्ना-प्रदर्शन नगर्नू, घुसपैठ गरेर अराजकता निम्त्याउन सक्छन् : गृह मन्त्रालय

सरकारले धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम नगर्न आग्रह गरेको छ । शनिबार गृह मन्त्रालय विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम सार्वजनिक भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको हो ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ʻदेशमा शान्ति सुरक्षा कायम गर्दै घोषित मितिमा स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैको योगदान महत्त्वपूर्ण एवं अपरिहार्य रहेको हुँदा सोही बमोजिमको भूमिका र दायित्व अपेक्षित छ । २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनपश्चात् सार्वजनिक सेवा पुनः सुचारु गर्नुको साथै क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण प्रक्रिया आरम्भ गरी शान्ति सुरक्षाको अवस्था सामान्य तुल्याई निर्वाचन केन्द्रित वातावरण निर्माण हुँदै गरेको स्थितिमा हाल सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवं अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरू समेत सचेत हुनुपर्ने देखिन्छ ।ʼ

जेनजीको प्रदर्शनपश्चात् गठन भएको सरकार आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउनेतर्फ क्रियाशील रहेको भन्दै मन्त्रालयले सरकारले निर्वाचनसम्बन्धी कानुनमा संशोधन, श्रोत र साधनको व्यवस्थापन, राजनीतिक दलहरू एवं सरोकारवालाहरूसँग वार्ता र संवाद गरिरहेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ʻआफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने समेतका हक अधिकारहरू कुण्ठित हुन नदिन र सार्वजनिक सुरक्षा साथै राष्ट्रिय सुरक्षा खलल हुन नदिई मुलुकमा साम्प्रदायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवर्द्धन गर्ने कार्यमा योगदान गर्न सबैमा अनुरोध छ । सबैको जायज माग, चासो एवं सरोकारलाई सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको हुँदा यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलन लगायतका कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ ।ʼ

विज्ञप्ति :

Yangle News