नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ । महासचिवका उम्मेदवार शंकर पोखरेलले मतदान अब भोलि बिहान ८ बजेदेखि मात्रै सुरु हुने जानकारी गराए ।
केही प्राविधिक विषय मिलाउन बाँकी रहेको तथा चिसो पनि भएकाले राति मतदान गर्नु उपयुक्त नहुने निष्कर्षका साथ भोलिदेखि मात्रै सुरु गर्न लागिएको उनको भनाइ छ । एमालेको मतदान आजै दिउँसोदेखि हुने भनिएको थियो । तर, प्राविधिक लगायतका कारण देखाउँदै पटक-पटक मतदानको मिति सर्दै आएको थियो । सोही क्रममा राति ८ बजेदेखि हुने भनिएको मतदान पनि मतदाताहरु लाइनमा बसिसकेको अवस्थामा स्थगित गरिएको हो ।
मतदानमा विद्युतीय मेसिन प्रयोग गरिने छ । एमालेको २ हजार २ सय ६३ प्रतिनिधि रहेका छन् । प्राविधिकहरुले एकजना प्रतिनिधिलाई मतदान गर्न करिब ३० मिनेट लाग्ने बताएका छन् ।
महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । एमालेको नयाँ नेतृत्व चयनका लागि अध्यक्षका उम्मेदवारहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्टा-छुट्टै प्यानल बनाएका छन् । सबै पदमा गरी ३०० बढी उमेदवार छन् ।