ओली-लेखकविरुद्ध परेको किटानी जाहेरी प्रहरीमै फिर्ता

Yangle News
Yangle News
२०८२ अशोज २३ गते
ओली-लेखकविरुद्ध परेको किटानी जाहेरी प्रहरीमै फिर्ता

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको किटानी जाहेरी प्रहरीमै फिर्ता गरेको छ ।

जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारले ओली-लेखकविरुद्ध दिएको किटानी जाहेरी जाँचबुझ आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै मंगलबार काठमाडौं प्रहरी परिसरले आयोगमा पठाएको थियो । तर, आयोगले बिहीबार फौजदारी कसुरको नियमित छानबिन र अभियोजनको काम आफ्नो नभएको भन्दै जाहेरी फिर्ता गरेको हो ।

जाँचबुझ आयोगका सदस्य विज्ञानराज शर्माले विज्ञप्ति जारी गर्दै फौजदारी कसुरको विस्तृत अनुसन्धान र अभियोजन आफ्नो काम नभएकाले प्रहरीबाट गर्न भनेको हो । उसले फौजदारी कसुरका सम्बन्धमा अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ । शर्माले भनेका छन्, ‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसूरदार देखिने अवस्थामा अभियोजनसमेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन । फौजदारी कसूरमा संलग्न जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपाल कानूनले अख्तियारी प्रदान गरेको विदितै छ । फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोराको आयोगको मिति २०८२ ।०६ ।२१ को प्रेस विज्ञप्तिको प्रतिलिपि साथ प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौँमा फिर्ता पठाइदिने ।’

प्रहरी परिसरमा ज्यान गुमाएकाहरूको परिवारबाट पुरूषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरीले संयुक्त रुपमा ओली-लेखकविरुद्ध किटानी जाहेरी दिएका थिए । ओली-लेखकविरुद्ध जाहेरी परेपछि एमालेका कार्यकर्ताले बालेन र सुधन गुरुङविरुद्ध पनि काउण्टर जाहेरी दर्ता गरेका छन् ।

भदौ २३ र २४ भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर तत्कालै १९ जना र बाँकीको उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेको संख्या हालसम्म ७५ पुगेको छ ।

विज्ञप्ति:

Yangle News

Yangle News