राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकूलपति भण्डारीसहित १३ जनाविरुद्द भ्रष्टाचारको मुद्दा

Yangle News
Yangle News
२०८२ अशोज २३ गते
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकूलपति भण्डारीसहित १३ जनाविरुद्द भ्रष्टाचारको मुद्दा

 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति संगीता सिंह भण्डारीसहित १३ जनाविरुद्द भ्रष्टाचार मुद्दा दायर भएको छ ।

प्रतिष्ठानका लागि एमआरआई र सीटी स्क्यान उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीसहित १३ जनाविरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिष्ठानकी तत्कालीन उपकुलपति भण्डारी समेतले एमआरआई मेसिन खरिदमा सार्वजनिक खरिद ऐन र नियमावली विपरीत बदनियतपूर्ण ढंगले कम गुणस्तरका उपकरण खरिद गरेको र खरिद आवश्यकताको पहिचान एंव खरिद गुरुयोजना नै नबनाई बजेट माग गरी पदाधिकारी र कर्मचारीको मिलेमतोमा खरिद गरी अनियमितता गरेको पाइएको अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा उल्लेख छ ।

उपकरण खरिद प्रकरणमा अख्तियारले प्रतिष्ठानकी तत्कालीन उपकुलपति भण्डारी, तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछाने, तत्कालीन फाईन्यान्स मेनेजर कैलाश प्रसाद देव, बोयोमेडिकल इन्जिनियर शरद भण्डारी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजका बायोमेडिकल ईन्जिनियर अमित कुमार चौधरी, डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, प्रतिष्ठानका शाखा अधिकृत छायाँ डिसी, अर्का शाखा अधिकृत श्रीराम चौधरी, आईटी अफिसर हिरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी,  तत्कालीन वरिष्ठ सहायक अन्जु शर्मा,  स्वास्थ्य सेवा विभागका तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र लुम्बिनी हेल्थकेयर प्रालि तथा सोहि कम्पनीका अध्यक्ष पोष्ट राज ज्ञवालीविरुद्ध मुद्दा चलाएको हो ।

उनीहरू विरुद्ध १२ करोड ७ लाख ६० हजार ९४६ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ  । आयोगले प्रतिव्यक्ति ९ करोड ३४ लाख २६ हजार ६१९ रुपैयाँ विगो असुलउपर गर्नुपर्ने मागदाबी समेत गरेको छ ।