महिला टी-ट्वान्टी श्रृंखला : मलसियाविरुद्ध दोश्रो खेलमा नेपाल विजयी

Yangle News
Yangle News
२०८२ अशोज १८ गते
महिला टी-ट्वान्टी श्रृंखला : मलसियाविरुद्ध दोश्रो खेलमा नेपाल विजयी

अन्तर्राष्ट्रिय महिला टी-ट्वान्टी शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै जित हासिल गरेको हो । यससँगै यो शृंखलामा नेपालले पहिलो जित दर्ता गराएको छ । यसअघि नेपाल मलेसियासँग पहिलो खेलमा तीन रनले पराजित भएको थियो ।

आज मलेसियाले जितका लागि दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपालले १६.२ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालका लागि पूजा महतोले सर्वाधिक ३९ रन बनाइन् । कप्तान इन्दु बर्मा २७ रनमा अविजित रहिन् भने रुबी पोद्दारले १५ रन बनाइन् ।

मलेसियाकी आयना हमिजाले दुई विकेट लिइन् भने नुर दानिया स्युहादा र नुर आलियाले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ‘ब्याटिङ’को निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ९१ रनको योगफल बनाएको थियो । मलेसियाका लागि आइना हमिजाले सर्वाधिक ५० रन बनाएकी थिइन् । त्यस्तै कप्तान विनिफ्रेड दुरासिंघमले १५ रन बनाइन् ।

नेपालकी सोमु विष्टले दुई तथा तथा कविता कुँवरले एक विकेट लिए । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृंखला १-१ को बराबरीमा छ ।

नेपालले आगामी जनवरीमा घरेलु मैदानमा नै हुने आईसीसी महिला टी-ट्वान्टी विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप उक्त शृंखला खेलेको हो ।

Yangle News