कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।
उनले लेखेका छन्,ʻस-साना कलिला छोराछोरीहरूको हत्या र दमन पश्चात् देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेस गरेको जानकारी गराउँदछु ।ʼ
अधिकारी नेपाली कांग्रेसबाट मन्त्री भएका हुन् । उनी कांग्रेस नेता शेखर कोइराला पक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा मन्त्री भएका हुन् । यसअघि कोइरालाले आफू पक्षका मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका थिए । अब उनी निकट तेजुलाल चौधरी, बद्री पाण्डे सरकारमा रहेका छन् । यसैगरी प्रदीप पौडेल पनि राजीनामा दिने सम्भावना रहेको बताइएको छ ।
अधिकारीले सोमबार जेनजी (छोराछोरी) पुस्ताले काठमाडौं र देशका विभिन्न स्थानमा मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणविरुद्ध आफूहरूलाई खबरदारी गरेको उल्लेख गरेका छन् ।
उनले भने,ʻलोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भइरहेको हो कि भनी म झस्किएको छु । देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो ? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन ।ʼ
पटकपटक युवापुस्ता र जनताले आन्दोलन गरिरहनुपर्ने र सत्तासीनहरूले सदैव असहिष्णुता देखाइ हिंसा गरिरहने विडम्बनाबाट मुलुकले चाँडै निकास पाउनुपर्ने बताए । लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही नहुने उनले बताए ।
यसअघि, सोमबार साँझ गृहमन्त्री रमेश लेखकले पनि घटनाको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए ।