एमाले सचिवालय बैठकले गर्‍यो ६ वटा निर्णय

Yangle News
Yangle News
२०८२ चैत्र २० गते
एमाले सचिवालय बैठकले गर्‍यो ६ वटा निर्णय

नेकपा एमालेले नेपाली सेना, कर्मचारी र कूटनीति समुदायप्रति आफ्नो पार्टीको पूर्ववत सम्बन्ध रहेको स्पष्ट पारेको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापाले संसदमा दिएको अभिव्यक्तिमा छलफल गर्दै सो निर्णय गरेको हो ।

‘बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ ’, बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले सरकारका एक हप्ताका कामका विषयमा पनि समीक्षा गर्दै कतिपय निर्णयबाट फिर्ता हुन आग्रह गरेको छ । विद्यार्थी संगठनको खारेजी, ट्रेड युनियनको खारेजी तथा निजी क्षेत्रका सञ्चार माध्यममा तीनै तहका सरकारले विज्ञापन तथा सूचना प्रकाशन प्रशारण गर्न रोक लगाएकोप्रति आपत्ति प्रकट गरेको छ ।

‘बैठकले वर्तमान सरकारको विधार्थी संगठनहरू खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णयको कडा शब्दमा विरोध गरेको छ र सरकारलाई अविलम्ब यस निर्णयबाट पछि हट्न ध्यानाकर्षण गराएको छ’, महासचिव पोखरेलले जारी गरेको विज्ञप्ति पढेर सुनाउँदै उपमहासचिव लेखराज भट्टले भनेका छन् ।

निजी क्षेत्रका सञ्चार माध्यममा विज्ञान रोकेर प्रेसको भूमिका कमजोर पार्ने सरकारको तयारी रहेको एमालेको ठहर रहेको छ । यस सम्बन्धमा सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमहरूलाई मात्र दिने सरकारको निर्णयप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । बैठकले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको यस निर्णयको कडा शब्दमा विरोध गरेको छ र यो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।’

बैठकले २१ फागुनमा भएको निर्वाचनको संक्षिप्त समीक्षा गर्दै निर्वाचन सफल गराउने सम्पूर्ण पक्षलाई धन्यवाद दिएको छ । यसैगरी भारी बहुमतका साथ सरकार गठन गरेकोमा प्रधानमन्त्री वालेन्द्र शाहलाई धन्यवाद पनि प्रकट गरेको छ । पछिल्ला दिनमा एमालेका कार्यकर्ता खासगरी महिलाहरूप्रति लक्षित गरेर व्यापक रुपमा भइरहेको साइबर हमलाप्रति आपत्ति प्रकट गरेको छ । यस्तो अशिष्ट व्यवहारको साइबर हमलाको प्रतिवाद गर्न र कानुनी उपचार गर्न सम्पूर्ण पार्टीपंक्तीलाई एमालेले आग्रह गरेको छ ।

एमालेले साइबर अपराधीलाई कानुनी कारबाही गर्न सरकारसँग माग पनि गरेको छ । एमालेले पश्चिम एशियाली देशहरूमा भइरहेको युद्धका विषयमा पनि ध्यान आकर्षण भएको जनाएको छ । बैठकले स्वदेश फर्कन चाहने सबैलाई सुरक्षित तरिकाले फर्कन वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

‘पश्चिम एशियमा जारी हिंसाका कारण बीसौँ लाख नेपालीहरू असुरक्षित बनेका छन् । हिंसाकै कारण एक नेपालीको मृत्यु भइसकेको छ भने ठूलो संख्यामा नेपाल फर्कन चाहनेहरू चिन्तित अवस्थामा छन्,’ एमाले सचिवालयको निर्णय जानकारी गराउदै उपहासचिव भट्टले भने, ‘बैठकले उनीहरूको सुरक्षाको सुनिश्चितता गर्न र स्वदेश फर्किन चाहनेहरूलाई सुरक्षित तबरले फर्कने व्यवस्था मिलाउन सरकारसमक्ष जोडदार माग गरेको छ ।’