नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

Yangle News
Yangle News
२०८२ माघ १५ गते
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रासन रकम वृद्धि गर्ने निर्णय गरेको हो ।

गृहमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार, आगामी फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको हो । ‘२०८२/११/१ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने,’ निर्णय सुनाउँदै अर्यालले भने ।

बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको उपलक्ष्यमा माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरिएको हो ।

मन्त्रिपरिषद्ले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचनासम्बन्धी सुझाव समिति- २०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।