नेपाली कांग्रेस विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वबारे निर्वाचन आयोगमा अद्यावधिक विवरण पेस गरिएको छ । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा आफैँ निर्वाचन आयोग पुगेका थिए ।
सभापति थापाले निर्वाचन आयोगलाई माघ ६ गतेको समयसीमालाई ख्याल गरी चाँडो निर्णय गर्न अनुरोध गरेका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष थापाले यस्तो अनुरोध गरेका हुन् । ‘माघ ६ गते निर्वाचनको लागि मनोनयन दर्ता गर्नुपर्ने बाध्यता छ । त्यसलाई ख्यालमा राखेर छिटो निर्णय गर्न अनुरोध गर्यौं,’ उनले भने, ‘निर्णय गरेर बाहिर भएको द्विविधा पनि हटाइदिन अनुरोध गरेका छौं ।’
सभापति थापाले पार्टीको नयाँ केन्द्रिय कार्यसमितिको विवरण शनिवारसम्म निर्वाचन आयोगले अद्यावधिक गर्ने विश्वास व्यक्त गरेका छन् । उनले नेपाली काँग्रेसको विधानको धारा १७ (२) बमोजिम गरिएको विशेष महाधिवेशनले नेतृत्व चयन गरेकोले सोको जानकारी औपचारिक रुपमा आयोगलाई गराईएको उनले जानकारी दिए । विशेष महाधिवेशन पार्टी विधानको धारा १५ अनुसार पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय सर्वोपरि हुने उनले बताए । विशेष महाधिवेशनबाट नयाँ केन्द्रिय कार्यसमिति चयन भइसकेकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार सो विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिएको उनको भनाई छ ।
उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्दा पार्टी नफुटेको बताएका छन् । नेपाली काँग्रेसको विशेष महाधिवेशन सफल भएको उनको दाबी छ ।
केन्द्रीय समितिले सभापति थापाको नेतृत्वमा चुनावी घोषणापत्र लेखन समिति गठनको निर्णय गरेको छ । कुपण्डोलमा आज बसेको केन्द्रीय समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
त्यस्तै, बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चुनाव परिचालन समिति गठनको निर्णय गरेको छ ।