काठमाडौं । विश्व बैंक लगायत विभिन्न अन्तरार्ष्ट्रिय संघसंस्था र देशबाट सहयोगको प्रतिवद्दता आइरहेकाले हामी चाँढै पुनर्निर्माणको चरणमा प्रवेश गर्ने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताउनुभएको छ ।
बिहीबार सिंहदरबारमा रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा अर्थमन्त्री वाग्लेले घटनाको गम्भीरतालाई हेरेर विश्व बैंकसँग संवाद गरी करिब २५ अर्ब रुपैयाँ बराबरको सहायता जुटाउने पहल गरिएको उहाँको भनाइ छ । उहाँले चीन, भारत, जापान सरकारका साथै एसियाली विकास बैंक र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघबाट तत्काल सहयोगको प्रतिबद्धता प्राप्त भएको जानकारी दिनुभयो ।
चालु बजेटमा राहत तथा पुनर्उत्थानका लागि करिब १० अर्ब रुपैयाँ विनियोजित रहेको, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब २ अर्ब ३४ करोड रुपैयाँ मौज्दात रहेको र गृह मन्त्रालयलाई थप १ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयो ।
उहाँले बाढीका कारण करिब २२ देखि २५ वटा पक्की पुल र निजी क्षेत्रसहितका करिब ७०० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू क्षतिग्रस्त भएको उल्लेख गर्नुभयो । राहत र उद्धारपछि २०७२ सालको भूकम्पपछिकै स्तरमा वैज्ञानिक तथ्य–तथ्याङ्क संकलन गरी दीर्घकालीन पुनर्निर्माणको कार्ययोजना बनाइने उहाँको भनाइ छ ।
प्रारम्भमा २ वटा बाट सुरु गरिएको उद्धार कार्य विस्तार गरी हाल २२ वटा हेलिकप्टरमार्फत तीव्र गतिमा खोजी तथा उद्धार भइरहेको जानकारी दिनुभएको हो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीमा फसेका नागरिकको उद्दारका लागि २२ वटा हेलिकप्टर परिचालन गरिएको जानकारी दिनुभएको छ ।
उहाँले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका नेपाली नागरिक तथा विदेशी पर्यटकहरूको सुरक्षित उद्धार जारी रहेको बताउनुभयो ।