राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षा आवेदन खुला गरेको छ । कार्यालयले २०८० मा हुने एसईईका लागि कक्षा १० मा अध्ययनतरत नियमित (माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी) तर्फका विद्यार्थीका लागि मंसिर मसान्त भित्र फारम भर्नु पर्ने समय तोकेको छ ।
मंसिर मसान्तभित्र फारम भर्न छुटेका विद्यार्थीले विलम्ब शुल्कसहित १५ पुषभित्र फारम भर्न भर्न सक्ने कार्यालयले जनाएको छ । फारमको लागि आवश्यक कागजात सहित नियमिततर्फ पाँच सय र विलम्बतर्फ एक हजार शुल्क तिर्नुपर्नेछ ।
यसैगरी परीक्षा नियन्त्रण कार्यालयले आगामी वर्षको एसइइ परीक्षामा सहभागि हुन रजिष्ट्रेसन फारमको पनि आवेदन खुला गरेको छ ।
कार्यालयले शैक्षिक वर्ष २०८१ म एसईईमा सहभागी हुनको लागि कक्षा ९ मा साधारण, परम्परागत (संस्कृत, वेदविद्याश्रम, गुरुकुल, मदर्सा, गोन्पा) र प्राविधिकतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीले मंसिर मसान्तभित्र फारम भर्नुपर्ने जनाएको छ ।