प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो

Yangle News
Yangle News
२०८२ भदौ १ गते
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव बिक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट ‍औपचारिक निम्तो दिएका छन् ।

नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका सचिव मिस्रीले आइतबार सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका थिए । सोही भेटका क्रममा उनले ओलीलाई भारत भ्रमणको निम्तो दिएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिएका थिए । निम्ताको लागि ओलीले धन्यवाद प्रकट गरेका थिए ।

सचिव मिस्रीले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्रमन्त्री आरजु देउवा, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए ।

प्रधानमन्त्री ओलीले आगामी भदौ ३१ गते भारतको दुईदिने भ्रमण गर्ने बताइए पनि भ्रमणको मितिबारे दुवै पक्षले आधिकारिक रूपमा अहिलेसम्म घोषणा गरेका छैनन् ।