भारतको हिमाञ्चाल प्रदेशमा आएको बाढीका कारण हालसम्म १४ जनाको मृत्यु भएको छ । लगातारको वर्षाले घर भत्किदा र पुलहरु बगाउदा यातायात अबरुद्ध बनेको मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुले बताएका छन् ।
हिमाञ्चल प्रदेश, उत्तराखण्ड, पञ्जाब, जम्मुकश्मीर, राजस्थान लगायतका स्थान जलमग्न भएका छन् । भारतीय मौसम विभागले अबको २४ घण्टासम्म ती स्थानहरुमा अवस्था हेरेर रेड तथा अरेन्ज अलर्ट जारी गरेको छ । वर्षाका कारण राजधानी दिल्ली, गुरुग्राम र नोयडाका विद्यालयहरु आज बन्द गरिएका छन् ।
राजधानी दिल्लीका धेरै घरहरुमा पानी पसेपछि ३० हजार स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । हिजो दिल्लीमा २० वर्षायताकै भीषण वर्षा भएको रेकर्ड गरिएको थियो । यमुना नदीको पानीले खतरा सतह पार गरेको छ । केहिबेर अघिबाट सो स्थानमा फेरी वर्षा भइरहेको छ ।
पछिल्लो २४ घण्टामा उत्तराखण्डमा आएको पहिरोका कारण २ सय ४१ वटा सडक अबरुद्ध भएका छन् । विभिन्न गाउँहरु सञ्चार सम्पर्क विहीन छन् । आगामी बिहीवारसम्म भारी वर्षाको अनुमान मौसम विभागले गरेको छ ।
यसैबिच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित क्षेत्रका मन्त्री तथा अधिकारीहरुसँग पछिल्लो जानकारी लिइरहेको बताएका छन् ।