भोजपुरमा नेपाली सेना सवार बस दुर्घटना, २४ जना घाइते

Yangle News
Yangle News
२०८२ फाल्गुन ६ गते
भोजपुरमा नेपाली सेना सवार बस दुर्घटना, २४ जना घाइते

भोजपुरमा नेपाली सेना सवार बस दुर्घटनामा परेको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापनाका लागि गएको नयाँ श्रीनाथ गणका सेना चढेको ना ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका-४ दावाँस्थित सेती बगरमा दुर्घटनामा परेको हो । बेस क्याम्प स्थापना गर्नका लागि छनोट गरिएको ठाउँ नजिकै पुग्ने बेला दुर्घटना हुन पुगेको हो ।

बस सडकबाट करिब ५०० मिटर तल खसेर रुखमा अड्किएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार घाइते ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको छ । सामान्य घाइते दुई जनाको भोजपुर अस्पतालमै उपचार भइरहेको छ ।

बसमा २४ जना सेना तथा चालक र सहचालकसहित २६ जना सवार रहेको प्रहरीले जनाएको छ ।