नेपालको उत्तरी सीमा नाका तातोपानीबाट पुनः रासायनिक मल भित्रिन थालेको छ । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट एक सातामा साढे ७ हजार टन रासायनिक मल ल्याएको छ । सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकारी दामोदर सत्यालले ७ हजार १ सय टन रासायनिक मल ल्याउने तयारी रहेको र गत साता ३ हजार ५ सय टन कृषि सामग्री र ४ हजार टन साल्ट ट्रेडिङलाई तातोपानी नाकाबाट रासायनिक मल ल्याएर बुझाइसकिएको बताए ।
केही समय अघि नै आउनुपर्ने मल कोभिडको कारणले रोकिएकाले अहिले आयात गरिएको हो । तातोपानी भन्सारको मल राख्ने क्षमता सात हजार १ सय टन रहेकाले अहिलेको लागि त्यति बराबरको मल ल्याउने तयारी रहेको उनको भनाइ छ ।
तातोपानी नाकाबाट पछिल्लो पाँच दिनमा दैनिक ९ वटासम्म मलका कन्टनर ल्याइएको उनले बताए । तातोपानी नाका नेपालको चीनसँगको नजिकको नाका भएपनि नेपालतर्फको सडक मार्गमा समस्या रहेकाले प्रभावकारी सञ्चालन हुन सकेको छैन ।
सिल्क ट्रान्सपोर्ट कम्पनीले सरकारलाई समयमा नै मल ल्याएर दिनेगरी आयात गरिरहेको उनको भनाइ छ । रासायनिक मल चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट तातापानी नाकासम्म कन्टेनरमार्फत ल्याइएको सिल्क कम्पनीले जानकारी दिएको छ । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदेयसिंह बिष्टले खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक तथा अन्य सामग्री आयात हुने गरेकामा पछिल्लो साता रासायनिक मल आयात भएको बताए ।
तातोपानी नाकाबाट चालु आर्थिक वर्षमा ४ अर्ब ६२ करोड राजश्व संकलन गर्ने लक्ष्य भएपनि अहिलेसम्म २ अर्ब ५४ करोड अर्थात ४५ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । तातोपानी नाकामा भइरहेको आयातको अवस्थालाई हेर्दा यो आर्थिक वर्ष लक्ष्यको कम्तिमा ६२ प्रतिशतसम्म राजश्व संकलन हुने अवस्था देखिएको उनले बताए ।