नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण, मोटरसाइकललाई प्रवेश निषेध

Yangle News
Yangle News
२०८२ साउन २९ गते
नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण, मोटरसाइकललाई प्रवेश निषेध

सरकारले मुलुककै पहिलो नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर रकम तोकेको छ । यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरुङमार्गको उपभोग दस्तुर तोकेको हो ।

कार र भ्यान काठमाडौं आउँदा प्रत्येकपटक ६५ र बाहिर जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ । मिनिबस र ट्रक काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ तोकिएको छ । ठूला बस र ट्रक काठमाडौं आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर निर्धारण गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मन्त्री गुरुङका अनुसार, भारी उपकरण काठमाडौं ल्याउँदा ६०० र लैजाँदा २५० रुपैयाँ तोकिएको छ । सुरुङमार्गबाट मोटरसाइकल चलाउन नपाइने व्यवस्था गरिएको छ ।

सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ढिलोमा एक वर्षभित्र सुरुङमार्ग सञ्चालनमा ल्याइने उनले बताए । सुरुङमार्ग ०७६ कात्तिक ४ गतेदेखि निर्माण थालिएको थियो । ०८० वैशाखसम्म सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर, कोरोना तथा स्थानीयको अवरोधका कारण म्याद थपिएको थियो ।

सुरुङमार्ग दुई हजार ६८८ मिटर लामो छ । सिस्ने खोलाबाट नागढुंगा सडक हुँदै बलम्बुसम्म आइपुग्न औसत ३३ मिनेट बढी लाग्ने गरेको छ । मुख्यसँगै आपत्कालीन सुरुङ समेत निर्माण गरिँदै छ । आपत्कालीन सुरुङको दूरी दुई हजार ५५७ मिटर रहेको आयोजनाले जनाएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा सुरुङ निर्माण गरिएको हो । सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले पाएको थियो । सुरूङमार्ग निर्माण गर्न जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋण र सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।