नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’ अभियानको शुरु भएको छ । देशभरका माध्यमिक तहसम्मका विद्यार्थीलक्षित ग्रासरुट फुटबलको विकासमा टेवा पुग्ने विश्वाससहित आजदेखि अभियान सुरु भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा अभियानको शुभारम्भ गरेको हो । एन्फाले कार्यक्रमलाई ७७ वटै जिल्लाका १ हजार ७२ वटा विद्यालयमा सञ्चालन गर्ने लक्ष्य लिएको छ । कार्यक्रमका दौरान ३२ हजार ६४० वटा फुटबल वितरण गरिने एन्फाले जनाएको छ । एन्फाले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा यो कार्यक्रम अगाडि बढाउने छ ।
‘फुटबल फर स्कुल्स’ फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पहलमा विगत ६ वर्षयता संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)सँगको सहकार्यमा संचालन हुँदै आएको कार्यक्रम हो । सन् २०१९ मा लेबननबाट सुरु भएको यो कार्यक्रमले विश्वभर लगभग ७० करोड बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पुर्याउने उद्देश्य बोकेको छ । हालसम्म १ सय ३९ राष्ट्रमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । दक्षिण एसियामा भुटान यो कार्यक्रमको लाभ उठाउने पहिलो राष्ट्र हो ।
औपचारिक कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य-सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईलगायत उपस्थित थिए । कार्यक्रम ‘फिफा फुटबल फर स्कुल्स’का म्यानेजर एन्टोनियो ब्युनानो सान्चेज र प्राविधिक सल्लाहकार अल्बर्टो जियाकोमिनीको प्रत्यक्ष निगरानीमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासलाई सरकारले प्राथमिकता दिएको बताउँदै भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको नयाँ रंगशाला निर्माणको घोषणासमेत गरे ।