चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा साढे २ खर्बको सामग्री निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि जेठ मसान्तसम्म २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँको सामग्री निर्यात भएको हो ।
निर्यात गत आवको यसै अवधिको तुलनामा ७७.७७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष यसै अवधिमा १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । यस अवधिमा सोयाविन तेलको निर्यात सबैभन्दा धेरै ९३ अर्ब ५१ करोड रुपैयाँ बराबरको भएको छ । यसपछि सूर्यमुखी फुल तेल, कार्पेट अलैंची लगायतका सामग्री निर्यात भएको तथ्यांकमा उल्लेख छ ।
यसैगरी जेठ मसान्तसम्म १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबरको आयात भएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १३.१५ प्रतिशत बढी हो । गत आवमा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । निर्यात बढ्दा व्यापार घाटा भने ६ प्रतिशतले मात्र विस्तार भएको छ ।
यस अवधिमा एक खर्ब ७४ अर्ब ९९ करोड रुपैयाँको डिजेल र पेट्रोल आयात भएको छ । विभागका अनुसार, गत वर्षको ११ महिनाको तुलनामा यो वर्ष पेट्रोल र डिजेलको खपत घटेको हो ।
गत वर्षको ११ महिनामा एक खर्ब ९२ अर्ब आठ करोड रुपैयाँको डिजेल र पेट्रोल आयात भएको थियो । चालु आर्थिक वर्ष ०८१/८२ को जेठ मसान्तसम्म ५८ अर्ब ५८ करोड ९० लाख रुपैयाँको पेट्रोल आयात भएको छ । सोही अवधिमा ११ खर्ब ५५ अर्ब ५० लाख रुपैयाँको डिजेल आयात भएको छ ।
गत वर्षको जेठ मसान्तसम्म ६२ अर्ब ८७ करोड ७३ लाख रुपैयाँको पेट्रोल आयात भएको थियो । सो अवधिमा एक खर्ब २९ अर्ब २० करोड रुपैयाँको डिजेल आयात भएको थियो ।