स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी र कर्मचारीप्रति कडाइ गर्न सुरु गरेको छ । मातहतका कर्मचारीहरूलाई कुनै पनि राजनीतिक गतिविधिमा नलाग्न मन्त्रालयले सूचना नै जारी गरेको हो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सरकारमा डा. सुधा शर्मा स्वास्थ्यमन्त्रीका रुपमा आएपछि भने यस पटक मन्त्रालयले कर्मचारीहरूको लागि कडाइ गर्न सुरु गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी गरिएको विज्ञप्तिमा प्रचलित कानुनविपरीत गतिविधि गरेको पाइएमा ऐनको दफा ७३ र ७४ अनुसार नसिहतदेखि वर्खास्तीसम्मको कारबाही हुन सक्ने चेतावनी दिइएको छ ।
मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल स्वास्थ्य सेवा गठन, सञ्चालन र व्यवस्थापनको उद्देश्य नै नागरिकलाई स्वास्थ्यसम्बन्धी अधिकारको प्रत्याभूति दिनु भएकाले कर्मचारीको जिम्मेवारी अझ संवेदनशील र महत्वपूर्ण रहने बताइएको छ । ऐनको परिच्छेद ८ मा उल्लेखित आचरणहरू- समयपालना र नियमितता (दफा ५२), अनुशासन र आज्ञापालन (दफा ५३), राजनीतिक वा अवाञ्छनीय प्रभाव नपार्ने (दफा ५४), राजनीतिक गतिविधिमा भाग नलिने (दफा ५५), सरकारको आलोचना नगर्ने (दफा ५६) तथा सरकारी कामकाजसम्बन्धी समाचार प्रकाशनमा प्रतिबन्ध (दफा ५७)- पूर्ण रूपमा पालना गर्न मन्त्रालयले सबै स्वास्थ्यकर्मीलाई आग्रह छ ।’
केही दिनअघि जेनजी आन्दोलनका केही अभियन्ताहरुले स्वास्थ्य मन्त्रालय पुगेर मन्त्रालय मातहतका चिकित्सक लगायतका कर्मचारीलाई कुनै पनि राजनीतिक आस्था भएका संघसंस्थामा संलग्न हुन नपाउने र भएको पाइए कारबाही हुने कानुनलाई कडाइका साथ पालनमा गर्न दवाव दिएका थिए ।
विज्ञप्ति :