अब १२ को परीक्षा दिएर बसेकाले पनि सीईईमा सहभागी हुन पाउने

Yangle News
Yangle News
२०८१ असार ५ गते
अब १२ को परीक्षा दिएर बसेकाले पनि सीईईमा सहभागी हुन पाउने

 

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थी पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

चिकित्सा शिक्षा आयोगले अबदेखि कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको हो ।

यसअघि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन १२ कक्षा उतीर्ण हुनुपथ्र्यो ।

नियमित विद्यार्थीको सुविधाका लागि यस्तो विशेष व्यवस्था गरिएको आयोगका सहसचिव कृष्ण प्रसाद काप्रीले जानकारी दिए । एकीकृत प्रवेश परीक्षाका लागि आयोगले आवेदन खुलाइसकेको छ ।

सो परीक्षाका लागि गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन् । तर परीक्षाको नतिजा आउने बेलामा आयोगले चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्ना सम्वन्धी कार्यविधि (पहिलो संसोधन) २०७० को दफा ७ बमोजिमको योग्यता पुगेका उम्मेदवारलाई मात्रै समावेश गरी नतिजा प्रकाशित गर्ने स्पष्ट पारेको छ ।

एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, फार्मेसीलगायत चिकित्सा शिक्षातर्फको स्नातक तहका विभिन्न विषयमा भर्ना हुन कक्षा १२ मा फिजिक्स, केमेस्ट्री, बायोलोजीलगायतका विषयमा अध्ययन गरेको हुनुपर्ने छ । उक्त विषयमा कम्तीमा ५० प्रतिशत वा २.४ जीपीए प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्ने छ ।

‘कक्षा १२ को नतिजाका कारण जेहेन्दार विद्यार्थीको समय अनावश्यक रुपमा क्षति हुन नदिनका लागि आयोगले यसपटकदेखि सहजीकरण गरेको हो’, काप्रीले भने, ‘१२ को नतिजा आएपछि मात्रै उनीहरुको योग्यताको आधारमा एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित हुनेछ ।’

 

आयोगले अघिल्लो वर्ष एमबीबीएसमा १ हजार ९२० सिट छुट्याएको थियो । आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौ १ देखि ५ गतेसम्म हुँदैछ ।