एमालेको विधान महाधिवेशन आजदेखि, २,३४१ प्रतिनिधि सहभागी

Yangle News
Yangle News
२०८२ भदौ २० गते
एमालेको विधान महाधिवेशन आजदेखि, २,३४१ प्रतिनिधि सहभागी

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशन लम्बिने गरेपछि पहिला विधानसम्बन्धी विषय टुंग्याएर पछाडि वैचारिक बहस गर्ने महाधिवेशनको अभ्यास थालनी गरिएको हो ।

यो दोस्रो विधान अधिवेशन हो । दुई हजार ३४१ प्रतिनिधि सहभागी हुने यो महाधिवेशनको स्वागतका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ । महाधिवेशनका लागि सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर दुरीभित्र १८ वटा स्वागतद्वार बनाइएका छन् । बिजुलीका खम्बामा हँसिया हथौडा र सूर्य चिह्न अंकित झन्डा राखिएका छन् । सातदोबाटोदेखि गोदावरीसम्म आवतजावतका लागि निःशुल्क गाडीको व्यवस्था गरिएको छ ।

नेकपा (एमाले) अहिले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारा बोकेर महाधिवेशनमा होमिएको छ । महाधिवेशनको सभा हलसम्म पुग्दा नवीन प्रकारको ‘मार्क्सिज्म डिजिटल वर्ल्ड’ मा छिरेको अनुभव हुने एमाले पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले बताए । पार्टीको पाँचौं महाधिवेशनदेखि बाँस, काठ, हस्तलिखित ब्यानरबाट मञ्च, स्वागतद्वार निर्माण गरिएकोमा यतिखेर सनराइज सभा हललाई पूरै डिजिटल सिस्टममा जोडिएको श्रेष्ठले दाबी गरे । सभा हलको सिट संख्या दुई हजार ८४० रहेको छ । हलभित्र छिर्ने चारवटा प्रवेशद्वार राखिएका छन् । पहिलो द्वारबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मात्रै प्रवेश गर्नेछन् ।

पार्टी पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै प्रवेश गर्नेछन् । प्रतिनिधिको परिचय स्क्यान गर्ने छ वटा कम्प्युटरका बुथ राखिएका छन् । सोही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकले प्रवेश पाउने एमालेले जनाएको छ । मूल प्रवेशद्वारबाट प्रवेश गर्नासाथ हलको छतबाट पार्टी र चुनाव चिह्न सूर्यअंकित झन्डा लहरै फहराएका छन् ।

अन्तिम प्रवेशद्वारबाट क्याटरिङका लागि खाद्यान्न, खानेपानी ढुवानीका लागि खुला गरिएको एमाले बागमती प्रदेश कमिटी प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिइन् । दोस्रो र तेस्रो प्रवेशद्वारबाट महाधिवेशन हल छिर्नासाथ दायाँतिर प्रधानमन्त्री ओलीको पूर्णकदसहित हात उठाएको तस्बिर, दोस्रो विधान महाधिवेशनको लोगो राखिएको उनले उल्लेख गरे ।

हलको भित्तामा महाधिवेशनको लोगो, नेकपा (एमाले) र अंग्रेजीमा ‘सीपीएन यूएमएल’ले स्वागत गरिएको छ । पानी फोहोराका साना पोखरीमा सेता हाँसका जोडी खेलेको पनि देख्न सकिने उनले बताइन् ।

हलको बायाँतिर नेकपाका संस्थापक महासचिव पुष्पलाल, पूर्वमहासचिव मदन भण्डारी र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पूर्णकदको तस्बिर राखिएका छन् । पश्चिमतिर कार्लमार्क्स एङ्गेल्स र लेनिनको पूर्णकदसहित तस्बिर राखिएको छ । हलभित्र दुई हजार दुई सय स्क्वार फिट डिजिट बोर्ड राखिएको लामाले जानकारी दिइन् ।

सभा हलको पर्खालसँगै मिडिया सेन्टरको व्यवस्था गरिएको छ । पूर्ण वाइफाई जोन सहितको मिडिया सेन्टरमा डिजिटल बोर्डको व्यवस्था गरिएको छ । प्रतिनिधि, पर्यवेक्षकको परिचयपत्र मूल गेटमा मात्रै होइन, हलभित्र पस्दा पुनः स्क्यान गरिन्छ । परम्परागत उद्घाटन, स्वागत, शुभकामना मन्तव्यजस्ता कार्यक्रम रहने छैन । आज ११ बजे हुने उद्घाटनको काम १२ मिनेटभित्र सकिने छ । उद्घाटन समारोहमा मंगल धुन, सहिदको सम्झनामा शोक धुन, राष्ट्रिय धुन, अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको धुन बज्ने छ ।

अध्यक्षले उद्घाटन गरेलगत्तै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसैगरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ-आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

२१ गते सबै प्रतिवेदनमाथिको छलफलका लागि १० समूहमा विभाजन गरी छलफल गराइने छ । त्यसका लागि माथि छतमा चार, हल प्रवेश छेउमा दुई, हलभित्र दुई र बाहिर क्याटरिङ स्थलमा दुईवटा समूह छलफलका लागि व्यवस्था मिलाइएको छ ।