भोटेकोसी बाढी : ३ प्रहरी र ६ चिनियाँसहित १८ जना बेपत्ता

Yangle News
Yangle News
२०८२ असार २४ गते
भोटेकोसी बाढी : ३ प्रहरी र ६ चिनियाँसहित १८ जना बेपत्ता

रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना बेपत्ता भएका छन् ।  ३ जना नेपाल प्रहरी, ९ जना नेपाली र ६ जना चिनियाँ मजदुर गरि १८ जना बेपत्ता भएका हुन् ।

बाढीमा फसेकाहरुको उद्धार गर्न २१ सशस्त्र प्रहरीसहित बिभिन्न प्रहरी कार्यालयहरुबाट ९४ जनाको टोली खटिएको थियो  । तर, उद्धार गर्ने क्रममा प्रहरी सहायक निरिक्षक लाल बहादुर श्रेष्ठ र प्रहरी जवानद्वय मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ ।

एक प्रहरी, एक शशस्त्र प्रहरी र सात स्थानीय गरी ९ जनाको उद्धार गरिएको छ । बाढीले रसुवागढी नाकामा रहेको मितेरी पुल बगाउँदा नेपाल-चीन सम्पर्क बिच्छेद भएको छ ।

यस्तै टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात-आठवटा गाडी र आठदेखि नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ । नेपाल-चीन भन्सार यार्डमा पनि क्षति पुगेको छ । बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्‍याएको छ ।

यता त्रिशुली नदीमा फसेका दुई जनाको उद्धार भएको छ । बिदुर नगरपालिका-१, त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा फसेका मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङको नेपाली सेनाको हेलिकप्टरले सकुशल उद्धार गरेको हो । उनीहरु नदी किनारमा दाउरा काट्न गएका बेला बाढी आएपछि फसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

उनीहरुको उद्धार गर्न दुई हेलिकप्टर परिचालन गरिएका थिए । सुरुमा आएको हेलिकप्टरले हावाको वेगका कारण उद्धार गर्न नसकी फर्किएको थियो । त्यसपछि अर्को हेलिकप्टर पठाइएको थियो । अहिले जलसतह घटेको छ । तर, क्षतिको विवरण संकलनको काम भइरहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले जानकारी दिए । आज दिनभरी नै धादिङ र नुवाकोटका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनहरुले आग्रह गरेका छन् ।

तर, पछिल्लो २४ घण्टामा देशमा ठूलो वर्षा भएको छैन । भोटेकोशीमा आएको भीषण बाढी तिब्बततिर हिमताल फुटेर आएको हुन सक्ने अनुमान गरिएको बाढी पुर्वानुमान महाशाखाले जनाएको छ । यद्पि बाढी आउनुको कारणबारे थप अध्ययन भने भइरहेको महाशाखाका बाढीविज्ञ सागर मिश्रले जानकारी दिए ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशूलीलगायत देशका विभिन्न नदीहरूको जलसतह बढेको भन्दै आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले विपद्को समयमा आवश्यक सहयोगका लागि विपद् व्यवस्थापन विभागले तोकेका सुरक्षा निकाय, सुरक्षाकर्मी र स्वयंसेवकहरूसँग सम्पर्कमा रहन पनि सर्वसाधारणलाई सुझाएका छन् ।

ओलीले व्यक्तिगत सुरक्षालाई प्राथमिकतामा राख्दै अरूको सुरक्षामा पनि ध्यान दिन आग्रह गरे । यस्तै प्रमुख प्रतिपक्षी नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भोटेकोशीमा आएको बाढी र क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।  उनले सरकारलाई तत्काल उद्धार र राहत कार्यमा जुट्न आग्रह गर्दै आफ्ना पार्टीका नेता-कार्यकर्ताहरूलाई पनि उद्धारमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिए ।

Yangle News