नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसहित छजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीसहित ६जना र एक कन्सल्टिङ प्रालिविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको आरोपमा मुद्दा दायर गरेको हो । उनीविरुद्ध १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ विगो माग गरिएको छ ।
आयोगले अधिकारीसहित तत्कालीन निर्देशक मुरारी भण्डारी,उप प्रबन्धक नल विक्रम थापा,वरिष्ठ अधिकृत तथा हाल उपप्रबन्धक सम्वृद्धि श्रेष्ठविरुद्ध मुद्दा दायर भएको हो । परापर्शदाता गुरूदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ्ग प्रालि तथा उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापालाई विपक्षी बनाउँदै मुद्दा दायर भएको हो ।
मुद्दा दर्ता अघि अधिकारीलाई विशेष अदालतमा उपस्थित गराइएको थियो । ढिलोगरी अभियोग पत्र दायर भएकाले शुक्रबार मात्रै बयान तथा थुनछेक बहस हुने विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।
नलिञ्चोक हेलिपोर्ट निर्माणको क्रममा भ्रष्टाचार गरेको अधिकारीमाथि आरोप छ । प्राधिकरणका अधिकारीहरूले नलिन्चोकमा नयाँ हेलिपोर्ट निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन नै नगरी, प्रक्रिया मिचेर गुरुयोजना तयार पारेको अख्तियारको जिकिर छ । तत्कालीन महानिर्देशकले ‘सम्भाव्य देखिएमा मात्र प्रक्रिया अगाडि बढाउने’ भने पनि सोको बेवास्ता गरी बदनियतपूर्वक काम अघि बढाइएको अख्तियारको भनाइ छ ।
यसैगरी हेलिपोर्टजस्तो संवेदनशील संरचनाको डिजाइन र सुपरिवेक्षणका लागि अन्तर्राष्ट्रिय स्तरको अनुभव भएको परामर्शदाता आवश्यक पर्नेमा, अनुभव नै नभएको ‘अभियन्त्र कन्सल्टिङ प्रालि’लाई मिलेमतोमा छनोट गरिएको अख्तियारको अनुसन्धानको निष्कर्ष छ । सार्वजनिक खरिद ऐन विपरीत प्रतिस्पर्धा सीमित गरी परामर्शदाता नियुक्त गरिएको पनि अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।
यसैगरी खरिद गुरुयोजना र वार्षिक खरिद योजना स्वीकृत नै नगरी हचुवाको भरमा लागत अनुमान तयार पारी स्वीकृत गराएको, वातावरण प्रभाव मूल्याङ्कन नगरी र नेपाल सरकारको पूर्व स्वीकृति समेत नलिई निर्माण कार्य अघि बढाइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी महानिर्देशक प्रदीप अधिकारीले सञ्चालक समितिलाई गलत जानकारी दिई बजेट विनियोजन गराएको र आफ्नो अधिकारको दुरुपयोग गरी बदनियत पूर्वक भुक्तानी र निर्माण कार्य गराएको समेत विज्ञप्तिमा उल्लेख छ । करिब १४ करोड खर्चिएर बनाइएको उक्त हेलिपोर्ट प्राविधिक र सुरक्षाका दृष्टिकोणले सञ्चालनयोग्य नरहेको अख्तियारको भनाइ छ।
त्यहाँबाट उडान गर्दा नजिकैका विद्यालय र बस्तीमा असर पर्ने तथा हवाई सुरक्षाका दृष्टिले उच्च भोल्टेजको प्रसारण लाइन र अन्य अवरोधका कारण जोखिमपूर्ण रहेको जनाइएको छ । हाल हेलिकप्टर अपरेटरहरूले सुरक्षा जोखिम देखाउँदै त्यहाँबाट उडान बन्द गरेका छन् । उसो त पुल्चोक इन्जिनियरिङ क्याम्पस र हवाई सुरक्षा विज्ञहरूको टोलीले समेत उक्त स्थान हेलिपोर्टका लागि उपयुक्त नभएको प्रतिवेदन दिएका थिए ।