साताको पहिलो दिन आज सेयर बजार ११३ अंकले बढेको छ । बृद्धिपछि नेप्से परिसूचक २६ सय ८१ अंकमा कायम भएको छ भने आज कुल १५ अर्ब ८१ करोडको कारोबार भयो । दिनभर कारोबार हुँदा दुई पटक सर्किट ब्रेक लागे पनि दोस्रो सर्किट ब्रेकपछि बजार सम्हालिएको थियो ।
बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो । २० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो ।
दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा पुगेको थियो । ४० मिनेटपछि खुलेको बजारमा भने एकाएक बिक्रीको चाप बढेको थियो, जसले गर्दा तेस्रो सर्किट ब्रेक लाग्न पाएन ।
नेप्से आजको अधिकतम अंक २७०८ मा पुगेको थियो । आज माइक्रोफाइनान्स ९०.१८ प्रतिशतले घट्दा सबै क्षेत्रका सूचक भने बढेका छन् । बैंकिङ सबैभन्दा धेरै ९.८९ प्रतिशत बढ्यो । विकास बैंक ४.८, फाइनान्स १.२, होटल तथा पर्यटन ०.४६, हाइड्रोपावर ०.८३, लगानी ५.७५, जीवन बीमा ४.२४, उत्पादन १.७२, निर्जीवन बीमा २.६८, अन्य ३.१९ तथा व्यापार २.६२ प्रतिशत बढ्यो ।
आज कारोबार रकमका आधारमा कुमारी बैंक, एनआईसी एसिया बैंक, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।
स्टान्डर्ड चार्टर्डबाहेक अरु १८ वाणिज्य बैंकको मूल्य १० प्रतिशत बढ्यो । स्टान्डर्ड चार्टर्डको ८.३ प्रतिशत मूल्य बढ्यो ।