काठमाडौंबाहेक ५ महानगरद्वारा बजेट प्रस्तुत, कुनको कति ?

Yangle News
Yangle News
२०८२ असार ११ गते
काठमाडौंबाहेक ५ महानगरद्वारा बजेट प्रस्तुत, कुनको कति ?

संवैधानिक प्रावधानअनुसार संघीय सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउने गरेको छ । यस्तै, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट प्रस्तुत गर्ने प्रावधान छ ।

स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले हरेक वर्षको असार १० गतेभित्र आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मंगलबार अधिकांश स्थानीय तहले आगामी आवका लागि वार्षिक बजेट पेस गरेका छन् । केहीले निर्धारित मितिभन्दा अघि नै बजेट प्रस्तुत गरेका थिए ।

केही स्थानीय तहमा आन्तरिक विवादका कारण बजेट रोकिएको छ भने केहीमा प्राविधिक कारण देखाइएको छ । कूल छ वटा महानगरमध्ये काठमाडौँ महानगरको बजेट तोकिएको समयमा प्रस्तुत हुन सकेन ।

विराटनगर, वीरगञ्ज, ललितपुर, भरतपुर र पोखरा महानगरले बजेट प्रस्तुत गरिसक्दा संघीय राजधानी रहेको काठमाडौं महानगरले भने आन्तरिक विवादका कारण समयसीमाभित्र प्रस्तुत गर्न सकेन । संघीय सरकारका केही मन्त्रालयको भन्दा बढी बजेट चलाउने काठमाडौं महानगरको बजेटका बारेमा आमचासो रहने गरेको छ ।

काठमाडौं महानगरको कार्यपालिका बैठक लामो समयदेखि बस्न सकेको छैन । संघीय सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृत र प्रमुख बालेन्द्र साहबीच केही असमझदारी रहेको बताइएको छ । महानगरको नीति तथा कार्यक्रम र बजेटकाबारेमा सम्बद्ध पदाधिकारीका बीचमा छलफलसमेत हुन सकेको छैन ।

पाँच महानगरपालिकाले २८ अर्ब ६४ करोड १६ लाख सात हजार बजेट ल्याएका छन् । जसमध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकाले आठ अर्ब ३५ करोड १२ लाख र सबैभन्दा कम वीरगञ्ज महानगरपालिकाले तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँ बजेट ल्याएको छ ।

भरतपुर : पाँच अर्ब १९ करोड

भरतपुर महानगरपालिकाले तीन दिनअघि नै बजेट सार्वजनिक गरिसकेको छ । जसअनुसार, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । महानगरको १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका थिए ।

कुल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट एक अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट दुई अर्ब १५ करोड ७६ लाख, संघीय राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख र प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड चार लाख ४१ हजार रुपैयाँ अनुमान गरिएको छ । जनसहभागिताबाट पाँच करोड रुपैयाँ, बैंक मौज्दातबाट ७० करोड र सडक बोर्ड नेपालबाट तीन करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

महानगरको बजेटले अधुरा तथा क्रमागत आयोजनाको निरन्तरता, सहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य सम्पन्न गर्न साझेदारीका लागि चार करोड र महानगरको प्रशासनिक भवन निर्माणका लागि चार करोड रुपैयाँ विनियोजन गरिएको छ ।

पोखरा : आठ अर्ब ३५ करोड

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आठ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको छ । आइतबार (असार ८ गते) नै नगरप्रमुख धनराज आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपप्रमुख मञ्जुदेवी गुरुङले नगरसभामा बजेट पेस गरेकी थिइन् ।

पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षमा सात अर्ब ५१ करोड ३२ लाखको बजेट ल्याएको थियो । संघबाट एक अर्ब एक करोड ८१ लाख रुपैयाँ अनुमान गरिएको छ । बजेटअनुसार, नगर कार्यपालिकाको कार्यालयतर्फ ९५ करोड, सामाजिक विकासतर्फ ३८ करोड, आर्थिक विकासतर्फ १८ करोड, वडा कार्यालयतर्फ एक अर्ब, पूर्वाधारतर्फ दुई अर्ब ३३ करोड र सहरी विकास पर्यटन, वन तथा वातावरणतर्फ ३८ करोड छुट्याइएको छ ।

वीरगञ्ज : तीन अर्ब २२ करोड

वीरगञ्ज महानगरले असार ९ गते नै आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरिसकेको छ । महानगरले कुल तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको हो । महानगरको नगरसभाको १७औं अधिवेशनमा महानगरका उपप्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्षको आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन् ।

महानगरले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख ४९ हजार रुपैयाँ विनियोजन गरेको छ । पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख अर्थात् कुल बजेटको २८.६४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

महानगरले आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट एक अर्ब १५ करोड संकलन हुने अनुमान गरिएको छ । त्यसैगरी सघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख बजेट प्राप्त हुने अनुमान गरिएको छ ।

आलमका अनुसार, आगामी आर्थिक वर्षको बजेटको मुख्य प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाह रहेका छन् । यस महानगरले चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षमा ३३ करोड बढीको बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा महानगरको बजेट दुई अर्ब ८९ करोड ४८ लाख थियो । महानगरले बीपी उद्यान र रेल्वे संग्रहालय बनाउने घोषणा गरेको छ ।

विराटनगर : चार अर्ब ४० करोड

विराटनगर महानगरपालिकाले असार १० गते आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि चार अर्ब ४० लाख रुपैयाँको बजेट ल्याएको छ । नगरसभाको १६औं अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले नीति तथा कार्यक्रम र विनियोजित बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटको स्रोत वित्तीय समानीकरण अनुदान संघ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँटबाट एक अर्ब १९ करोड २० लाख, आन्तरिक राजस्वबाट एक अर्ब ४० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । नगद मौज्दात १४ करोड, संघीय सरकारको ससर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेशको ससर्त अनुदान चार करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट एक करोड ५० लाख र अरु संघसंस्थाबाट १६ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।

महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६४ करोड ७५ लाख, ऋणको साँवाब्याज भुक्तानीका निम्ति पाँच करोड, चालु आर्थिक वर्षको भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमका लागि आठ करोड रुपैयाँलगायत विभिन्न कार्य गर्न बजेट विनियोजन गरेको छ । महानगरले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिएको छ ।

ललितपुर : सात अर्ब ४६ करोड

ललितपुर महानगरले आर्थिक वर्ष २०८२/२०८३ को लागि सात अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँ बजेट नगरसभामा प्रस्तुत गरेको छ । महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा बजेट प्रस्तुत गरिन् । चालु खर्चतर्फ दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार र पुँजीगततर्फ चार अर्ब ५० करोड ७७ लाख २९ हजार विनियोजन गरिएको छ ।

नगरलाई समृद्धि सुशासन सम्पदा र संस्कृति संरक्षण, दिगो पूर्वाधार, हरियाली प्रवर्द्धन, पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घर–घरमा स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगार लगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ ।

महानगरले आगामी आर्थिक वर्षको बजेटबाट बुङमती, खोकना, धापाखेल, सुनाकोठी हरिसिद्धिलाई समेटेर सांस्कृतिक सडक निर्माण गर्ने घोषणा गरेको छ । नगर प्रमुख चिरीबाबु महर्जनले पाटन दरबार क्षेत्र, बुङमती, खोकना, सुनाकोठी, धापाखेल हरिसिद्धिलाई समेटेर रणनीतिक सांस्कृतिक सडक निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए । महानगरले ‘ज्येष्ठ नागरिकसँग महानगर’ कार्यक्रमलाई विस्तार गरी निःशुल्क थेरापीको सेवा समेत दिने भएको छ ।