नेपालको तेस्रो उपराष्ट्रपति बने रामसहायप्रसाद यादव

Yangle News
Yangle News
२०७९ चैत्र ३ गते
नेपालको तेस्रो उपराष्ट्रपति बने रामसहायप्रसाद यादव

जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव नेपालको तेस्रो उपराष्ट्रपति बनेका छन् ।

शुक्रबार सम्पन्न निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

यादवले ३० हजार ३२८ मतभार प्राप्त गरे । उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन् ।

उपराष्ट्रपति पदका लागि भएको मतदानमा संघीय संसद (प्रतिनिधिसभा, राष्ट्रिय सभा ) र प्रदेशसभाका सांसदले मतदान गरेका थिए । संघीय संसद र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादव त्यसको बहुमत अर्थात् २६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याएर निर्वाचित भएका हुन् ।

निकटतम् प्रतिद्वन्दी एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले कुल १६ हजार ३२८ मत प्राप्त गरिन् । जनमतबाट उपराष्ट्रपतिकी उम्मेदवार ममता झाले २ हजार ५३७ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि प्रदेशतर्फ १ जना सांसदको मत पाएकी जसपाबाट उपराष्ट्रपतिकी उम्मेदवार प्रमिला कुमारीले  सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार रामसहायप्रसाद यादव बनेकाले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेकी थिइन् ।

यादव जसपाका संसदीय दलका नेतासमेत हुन् । उपराष्ट्रपतिमा निर्वाचित उनी बारा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् ।