अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

Yangle News
Yangle News
२०८२ साउन १४ गते
अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई भिडियो स्ट्रिमिङ साइट युट्युबमा प्रतिबन्ध लगाएको छ । साथै, बालबालिकाले फेसबुक, टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट, एक्सलगायत प्लेटफर्ममा पनि खाता खोल्न पाउने छैनन् ।

‘दशमध्ये चार बालबालिकाले युट्युबमार्फत हानिकारक सामग्री हेर्दैछन्, जुन विश्वकै सबैभन्दा धेरै हेरिने वेबसाइटमध्ये एक हो,’ सञ्चारमन्त्री अनिका वेल्सले भनिन्, ‘प्लेटफर्मले उनीहरूको पहिचान निर्धारण गर्नुअघि, हामी बालबालिकाले आफू को हुन् भन्ने थाहा पाउन् चाहन्छौं । सामाजिक सञ्जालको स्थान छ । तर, बालबालिकालाई निसाना बनाउने हानिकारक एल्गोरिदमका लागि कुनै ठाउँ छैन ।’

यसअघि, अस्ट्रेलियाले फेसबुक, टिकटक र इन्स्टाग्रामजस्ता सोसल मिडिया साइटमा १६ वर्षमुनिका बालबालिकालाई प्रतिबन्ध लगाउने कानुनको मस्यौदा बनाएको थियो । पहिलो चरणमा युट्युबलाई शैक्षिक प्रयोजनको कारणले प्रतिबन्धबाट छुट्याउने संकेत गरिएको थियो ।

यस निर्णयलाई विश्वकै कडा प्रतिबन्धमध्ये एक मानिएको छ । केही प्लेटफर्मले यस कानुनलाई अस्पष्ट, हतारमा बनाइएको र समस्याग्रस्त भएको आरोप लगाएका छन् । तर, हालसम्म लागु गर्ने तरिका र नियमबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । नयाँ कानुन १० डिसेम्बर २०२५ मा लागु हुनेछ । सामाजिक सञ्जाल कम्पनीले प्रतिबन्ध कार्यान्वयन गर्न असफल भए उनीहरूलाई ४९.५ मिलियन डलरसम्मको जरिवाना हुन सक्नेछ ।

युट्युबका प्रवक्ताले यस निर्णयलाई सरकारको अप्रत्याशित यू-टर्न भएको बताएका छन् । ‘हाम्रो अडान स्पष्ट छ- युट्युब सामाजिक सञ्जाल होइन । एक भिडियो सेयरिङ प्लेटफर्म हो, जहाँ निःशुल्क, उच्च गुणस्तरको सामग्री हेर्न पाइन्छ ।’ टिकटकले सरकारमाथि मानसिक स्वास्थ्य, अनलाइन सुरक्षा र युवा विशेषज्ञहरूको विचारलाई बेवास्ता गरेको आरोप लगाएको छ । मेटाले प्रतिबन्धले अभिभावक र किशोरहरूमा अतिरिक्त बोझ थप्ने चेतावनी दिएको छ ।