जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने सरकारको निर्णय

Yangle News
Yangle News
२०८२ पुस २१ गते
जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ । सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेकामध्ये ८ वटा निर्णय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजिनक गरेका छन् ।

सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ । जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको मन्त्री खरेलले जानकारी गराए ।

बैठकले नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र समेत स्वीकृत गर्ने बैठकबाट निर्णय भएको छ । बैठकले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश-२०८२, स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले वन तेस्रो संशोधन नियमावली २०८२, स्वीकृत गरेको छ ।

सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फ उपमहालेखापरीक्षकमा घनश्याम पराजुलीलाई बढुवा गरेको छ ।

यस्तै समस्याग्रस्त सहकारी संस्थाको सम्पति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने बैठकले निर्णय गरेको छ ।