प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

Yangle News
Yangle News
२०८२ चैत्र २३ गते
प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्यीय मस्यौदा समिति गठन गरिएको छ । सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको प्रस्तावबमोजिम सो दलका सांसद गणेश पराजुली सभापति रहने गरी सबै दलका सदस्यहरू सम्मिलत समिति सर्वसम्मतिले पारित भएको हो ।

समितिमा ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजाला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निष्कल राई, बलावती शर्मा, मधु चौलागाइँ, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादल, डा. सुलभ खरेल छन् । समितिले सभामुखको सामान्य निर्देशनमा रही आफ्नो कार्यविधि आफैं तय गर्नेछ भने समितिलाई कार्यप्रारम्भ भएको मितिले १४ दिन कार्यअवधि दिइएको छ । उक्त प्रस्तावको सीता थपलिया, गणेशसिंह ठगुन्ना, युवराज दुलाल, धुवराज राई, भरत गिरी, पुष्पाकुमारी चौधरीले समर्थन गरे । नयाँ नियमावली निर्माण नहुञ्जेल २०७९ को निवयमालीअन्तर्गत सभाको कार्यसञ्चालन भइरहेको छ ।

त्यस्तै बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको सदस्यहरू मनोनयन गरे । सो समितिमा डा. अच्युतम् लामिछाने, अफ्साना बानु, आर्यन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा धिताल, खुश्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गङ्गालक्ष्मी अवाल, तपेश्वर यादव, देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मीनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा राम लामा र विपिनकुमार आचार्य छन् ।

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको सोमबारको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ सर्वसम्मत रूपमा स्वीकृत भएको हो ।

बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले ती विधेयकलाई अस्वीकार गर्ने सूचना प्राप्त नभएको व्यहोरा जानकारी गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक भोलि अपराह्न १ बजे बस्ने भएको छ ।