किन अशान्त छ लस एञ्जलस ?

Yangle News
Yangle News
२०८२ जेष्ठ २७ गते
किन अशान्त छ लस एञ्जलस ?

डोनाल्ड ट्रम्पका नीतिका कारण पछिल्लो समय अमेरिकीहरू आक्रोसित बन्दै गएका छन् ।

त्यसमा पनि आप्रवासीविरुद्ध कडा कदम चालेका ट्रम्पका लागि लस एञ्जलसको प्रदर्शन भने सोचे जस्तो बनिरहेको छैन । उनले अत्यावश्यक फोर्सका रुपमा परिचित नेशनल गार्डलाई प्रदर्शन रोक्न खटाएका छन् । तर एलएको प्रदर्शन झन उग्र बन्दै गएको छ ।

एलएमा अशान्ति छाएको चौथो दिनमा लस एञ्जलसमा थप २,००० नेशनल गार्ड र ७०० मरीन पठाएका छन् तर पनि प्रदर्शन रोकिने छाँटकाँट छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा खटिएका नेशनल गार्डका सैनिकहरूले सहरको केन्द्रमा प्रदर्शनकारीलाई पछाडि धकेल्न अश्रुग्यास प्रयोग गरिरहेका छन् । प्रदर्शनकारीहरूले शहरका प्रमुख तथा लाइफलाइन राजमार्गको रुपमा रहेको १०१ फ्री वे प्रदर्शनकारीहरुको कब्जामा छ । सुरक्षाकर्मीहरूले उनीहरूलाई हटाउने प्रयास जारी राखेका छन् ।

राष्ट्रपति ट्रम्पले नेशनल गार्ड पठाउने आफ्नो निर्णयको बचाउ गर्दै कानून र शान्ति सुनिश्चित गर्न उनीहरू त्यहाँ जानु परेको दाबी गरेका छन् । उनले मरिन समते थप गरेका छन् । तर क्यालिफोर्नियाका गभर्नरले ट्रम्पलाई सैनिक फिर्ता बोलाउन आग्रह गरेका छन्, र अन्य डेमोक्र्याट गभर्नरहरूले यसलाई ‘शक्तिको गम्भीर दुरुपयोग’ भन्दै यसले देशव्यापी विरोधहरु सुरु हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । लस एञ्जलस प्रहरी विभागका अनुसार, केही प्रदर्शनकारीले शहरको केन्द्रमा रहेका स्वचालित सवारीसाधनहरूमा आगो लगाइदिएका छन् ।

प्रदर्शनको सुरुवात

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध प्रदर्शन गहिरो बन्दै जाँदा यसको सुरुवात भने अफहवाबाट सुरु भएको मानिएको छ । प्रदर्शन सुरु हुँदा हुआन र उनका केही साथीहरू लस एञ्जलस नजिकैको एक हार्डवेयर पसलको पार्किङ स्थलमा जम्मा भएका थिए ।

सामान्यतया, त्यहाँ हरेक दिन दर्जनौं डे लेवरहरु भेला हुन्छन् । जसमध्ये अधिकांस अवैध आप्रवासीहरु हुन् । काम खोज्दै किनमेल गर्न आउने ग्राहक वा ठेकेदारहरूलाई उनीहरु कुरिरहेका हुन्छन् ।

तर आइतबार, लस एञ्जलसको प्यारामाउण्ट क्षेत्रमा रहेको होम डिपोको शाखाबाहिर दुई वटा साना पिकअप गाडी मात्रै थिए, जसले छाना मर्मत, रंगरोगन वा अन्य काम गर्न सक्छौं भन्ने विज्ञापन गरिरहेका थिए । यो सहरमा ८२% भन्दा बढी जनसंख्या ‘हिस्पानिक’ अर्थात स्पेनि भाषा बोल्ने समूहको छ । एक दिन अघिमात्रै, यही पसल आप्रवासनविरुद्धको प्रदर्शनको केन्द्र बनेको थियो । हल्ला चलेको थियो कि यहाँ काम खोजिरहेका डे लेवरहरु पक्राउ परेका छन् ।

स्थानीय बासिन्दाहरूका अनुसार उनीहरूले आप्रवासन अधिकारीका गाडीहरू देखेका थिए, जसले तुरुन्तै डर र त्रासको माहोल सिर्जना गरेको थियो । त्यसपछि, होम डिपोमा छापा र गिरफ्तारी भएको खबर तिब्र रुपमा फैलियो । जुन स्थान अमेरिका भरिका अवैध आप्रवासीहरूले जीविकोपार्जनको लागि काम खोज्ने स्थलको रूपमा परिचित छ ।

हल्लापछि सुरु भएका प्रदर्शनहरू हिस्पानिक बहुल सहर प्यारामाउण्टमा हिंसात्मक बन्न पुग्यो । ढुंगा, बियरका बोतल, र मोलोटोभ ककटेलहरू फ्याँकिए । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले अश्रू ग्यास, रबरका गोली र धुवाँका बम प्रयोग गर्नु पर्यो ।

अनि भड्कियो दंगा

उक्त क्षेत्रका अन्य भागहरूमा दर्जनौं आप्रवासीहरू पक्राउ परे पनि, लस एञ्जलसको हार्डवेयर पसलमा छापा परेको भन्ने हल्ला झूटा भएको अमेरिकी गृह सुरक्षा विभाग (डिएचएस) ले जनाएको छ ।

डिएचएसले ‘झूटा रिपोर्टहरूका बावजुद, लस एञ्जलसको कुनै पनि होम डिपोमा ‘आइस’ (आइसीइ) को छापा परेको छैन । प्यारामाउण्टमा भएको हिंसामा एउटा कार जलाइयो र पसलहरूमा तोडफोड र लुटपाटहरुभए । फेडरल अधिकारीहरूले ‘दंगा’ भनेर परिभाषित गरेको यो प्रदर्शन लस एञ्जलसभर फैलिंदै समग्र अमेरिकाको अशान्तिको ‘ट्रिगर’ बनिरहेको छ ।

शनिबार, प्रदर्शनको दोस्रो दिन शहरमा तनाव बढ्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले राज्यको गभर्नरको सल्लाहबिना आफैं निर्णय गर्दै क्यालिफोर्निया नेशनल गार्ड तैनाथ गरे । आइतबार तेस्रो दिनको प्रदर्शन अझ धेरै चर्कियो । हार्डवेयर पसलको ठिक पारिपट्टि रहेको एक व्यवसायिक परिसर अगाडि सशस्त्र नेशनल गार्डहरू गेटको सुरक्षा गर्दै उभिएका थिए ।

आइतबार, न्यू जर्सीको मोरिसटाउनबाट एअर फोर्स वन चढ्न लाग्दै गर्दा राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग भने, ‘लस एञ्जलसमा हिंसात्मक मानिसहरू छन्, र तिनीहरूले यसरी उम्किन दिइने छैन ।’

यो प्रदर्शनलाई आप्रवासी समुदायको ‘सहनशीलताको अन्तिम सीमाना’ तोडिएको रुपमा बुझेको छ । लस एञ्जलस अमेरिकाको सबैभन्दा ठूलो अल्पसंख्यक–बहुल शहरहरूमध्ये एक हो, र यो घटना त्यही समुदायको आत्मसम्मान र सुरक्षाबारे गहिरो चोट दिने मोडमा पुगेको देखिन्छ ।

लस एञ्जलसमा कुनै पनि जातीय समूहभन्दा धेरै हिस्सा हिस्पानिकहरूकै छ, र विशेषतः मेक्सिकोदेखि सिधा दक्षिणबाट आएका आप्रवासीहरू यस शहरको इतिहास र संस्कृतिको मूल आधार रहेका छन् ।