नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डशलमा शुरू भएको छ ।
प्रतियोगिताबाट शीर्ष ८ पुरुष र शीर्ष ६ महिला टोली दशौँ पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय लिगमा छनोट हुनेछन् । पहिलो दिन आज महिला र पुरुष दुवैमा दुई-दुई खेल भएका छन् । महिलातर्फ समूह ‘बी’मा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो । पुलिसले २५–१०, २५–६ र २५–११ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । अर्को खेलमा आर्मीले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले खेल २५–१६, २५–१४ तथा २५–२३ ले खेल जित्दै तीन अंक जोडेको हो ।
त्यस्तै पुरुषतर्फ समूह ‘बी’को आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन क्लबलाई ३–१ को सोझो सेटमा पराजित गरेको छ । पुलिस २५–२०, २५–१४, ३५–३३ र २५–१४ ले विजयी भएको हो । उद्घाटन खेलमा समूह ‘ए’को टिप टप हेल्प नेपालले एपिएफविरुद्ध जित हासिल गरेको छ । २५–२१, २५–२० र २५–२० ले साविक विजेता हेल्प नेपाल विजयी भएको हो ।
च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टोली सहभागी छन् । दुवै तर्फका विजेताले ५ लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले २ लाख ५० हजार र तेस्रोले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । समूह चरणमा पुरुष र महिला दुवैतर्फ १२-१२ खेल हुनेछन् । प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १६ गरी कूल ३६ खेल हुनेछ ।