९ महिनाको तथ्यांक : भ्रमण व्यय १९ प्रतिशत वृद्धि

Yangle News
Yangle News
२०८२ बैशाख २९ गते
९ महिनाको तथ्यांक : भ्रमण व्यय १९ प्रतिशत वृद्धि

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा विदेश जाने नेपालीसँगै देशबाट एक खर्ब ७० अर्ब ३९ करोड रुपैयाँ बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार, २०८१ साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा नेपालबाट विदेश जाने नेपालीले उक्त रकम विदेश लगेका हुन् ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को पहिलो नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च (भ्रमण व्यय) १९ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को पहिलो नौ महिनामा विदेश जाने नेपालीसँगै एक खर्ब ४३ अर्ब २२ करोड रूपैयाँ देशबाट बाहिरिएको थियो । अघिल्लो आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २७ अर्ब १७ करोड रुपैयाँ बढी देशबाट बाहिरिएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा विदेश जाने नेपाली विद्यार्थीले मात्र नेपालबाट एक खर्ब तीन अर्ब ८४ करोड रुपैयाँ लगेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विदेश पढ्न जाने नेपाली विद्यार्थीसँगै देशबाट ९५ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको थियो । अर्थात् अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विदेश जाने विद्यार्थीले देशबाट ७ अर्ब ९९ करोड रुपैयाँ बढी लगेका छन् ।

नेपाल आउने विदेशीले भने चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ६६ अर्ब ५४ करोड रुपैयाँ नेपालमा खर्च (भ्रमण आय) गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६० अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भ्रमण आय ९.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पर्यटन आय ५ अर्ब ७७ करोड रुपैयाँ बढी भएको छ ।