‘निर्वाचनबाहेक अन्य विकल्प खोज्न थाले त्यसले देशलाई कहाँ पुर्‍याउँछ ?’

Yangle News
Yangle News
२०८२ अशोज २४ गते
‘निर्वाचनबाहेक अन्य विकल्प खोज्न थाले त्यसले देशलाई कहाँ पुर्‍याउँछ ?’

राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताएका छन् । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन दललाई आग्रह गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आह्वान गरिएको अन्तरिम सरकार सहितको सर्वदलीय बैठकमा उनले यस्तो आग्रह गरेका हुन् । उनले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आमनागरिकलाई दिलाउन सरकारलाई सुझावसमेत दिएका छन् ।

राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताए । उनले पौडेलले राजनीतिक दलहरूमा कुनै द्विविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पुर्‍याउँछ भन्ने पनि सोच्न आग्रह गरे । उनले पार्टीले अन्योलता सिर्जना नगरी जेनजीको माग पनि आफूहरूले पुरा गर्ने भनेर जनतामा जान आग्रह गर्दै दलको सुरक्षाको चिन्तालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दल निर्वाचनमा जान सधैँ तयार रहेको बताउँदै अहिलेको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुने विषयमा संसय पैदा भएको बताएका थिए । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभातिाविना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको भन्दै स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाइन् । जेनजीहरू हामीहरू सबैको छोरा नाति भएकाले उनीहरूले किन आज यस्तो असनतुष्टि व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह गरेकी थिइन् । बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबैमन्त्री सहभागी थिए ।

सो बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुनलगायत सहभागी थिए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषालको सहभागिता थियो ।

त्यस्तै, जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति सहभागी थिए ।