ताप्लेजुङको पाथीभरा जाँदै गरेको जीपमा करेण्ट लाग्दा चारजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीपमा करेन्ट लागेको हो । आज बिहान ५ बजेतिर फुङलिङ नगरपालिका-१० स्थित सेवारो चोकमा पोलबाट लत्रिएको तार छुँदा जीपमा करेण्ट प्रवाह भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । उनका अनुसार त्यसलगत्तै जीपमा आगो लागेको थियो ।
घटनामा बोलेरो चालक फुङलिङ नगरपालिका १० का दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापा घर भएकी वर्ष ६९ की सरिता पौडेल, झापाकै वर्ष ७० का विनोद पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरी निरीक्षक बस्नेतले बताए ।