आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संखुवासभाबाट नवनिर्वाचित सांसदसमेत रहेका खड्का ल्याण्ड डेभलपमेन्टका पूर्व सञ्चालक दीपक खड्काले स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारीविरुद्ध मानहानिको मुद्दा लिएर अदालत जाने घोषणा गरेका हुन् ।
सांसद खड्काले आइतबार पत्रकार सम्मेलनमार्फत स्काउटका प्रमुख आयुक्त भण्डारीले निरन्तर आफ्नो चरित्र हत्या गर्ने प्रपञ्च गरिरहेको बताए। खड्का ल्यान्ड प्रालिमा अहिले आफ्नो कुनै प्रकारको कानूनी एवं आर्थिक संलग्नता नरहेको र सोसम्बन्धी स-प्रमाण लिखित जानकारी नेपाल स्काउटलाई दिँदादिँदै पनि आफ्नो नाम जोडी भ्रामक समाचार सम्प्रेषण गराएको उल्लेख गर्दै उनले मानहानीको मुद्दा लिएर अदालत जाने तयारीमा रहेको बताए।
‘म अहिले यस प्रालिमा कुनै पनि हिसाबले आबद्ध छैन। उहाँहरूलाई यो जानकारी हुँदाहुँदै पनि नियोजित रूपमा मेरो सामाजिक चरित्र हत्या गर्ने र बदनाम गर्ने कार्यमा लाग्नु भएको छ,’ उनले भने, ‘म यही पत्रकार सम्मेलनमार्फत सबैलाई ध्यानाकर्षण गर्न चाहन्छु।’
खड्काले स्काउटका प्रमुख आयुक्त भण्डारी स्काउटमा बसेर बिचौलियाको काम गरेको आरोप लगाएका छन् । ‘उहाँ स्काउट होइन, विचौलिया प्रकारको मान्छे हो,’ खड्काले भने, ‘एमालेलाई पनि भ्रम राख्ने, प्रधानमन्त्री केपी ओलीको नजिक छु भन्ने, महामहिम राष्ट्रपतिको नातेदार हुँ भन्ने, मान्छे तर्साउने, धम्क्याउने र विचौलियाको काम गरिराखेको अवस्थामा स्काउट तहसनहस बनाउने, राजनीतिक मान्छेहरू भर्ति गर्ने, गैरकानूनी काम गर्ने र करोडौं रुपैयाँको अपचलन गरेको भनेर हामीले मन्त्रालयमा पनि निवेदन दिएका छौं। अख्तियारलाई पनि निवेदन दिएका छौं। मन्त्रालय र अख्तियार दुवैले छानविन गरिरहेका छन्।’
०७४ पछि निर्वाचन भयो । केपी ओली प्रधानमन्त्री हुनुभयो । उहाँहरुले लोकबहादुर भण्डारी भन्ने, उहाँ राजनीति गर्ने मान्छे । स्काउटको मान्छे होईन । उहाँले ५० हजार डोनेशन स्काउटलाई दिन्छु भनेर, पैसा पनि नदिएको भन्ने बुझिएको छ । ‘स्काउट भएर छिरेर यसलाई कब्जा गर्ने उद्देश्यले उहाँ आएको देखिन्छ। उहाँ स्कुल पनि सञ्चालन गर्नु हुन्छ। उहाँले आफ्नो स्कुल यहाँ स्थापना गर्न खोज्नुभएको रहेछ,’ खड्काले भने। डोजर लगाएर यहाँका संरचना भत्काउने प्रयास असफल भएपछि कहिले क्याबिनेट निर्णय गराएर त कहिले अनेक बहानामा समस्या सिर्जना गरिरहेको उनले बताए।
‘मेरो राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले मेरो निर्वाचन क्षेत्रमा आफैं पुगेर खर्च गरेर मलाई चुनाव हराउनै लागिपर्नुभएको सूचना छ,’ खड्काले भने। र, स्काउटका मान्छे भर्ति गरेर त्यसका लागि परिचलन गरेकोसम्म सूचना प्राप्त भएको खड्काले जानकारी दिए।
अहिले खड्का ल्यान्डको जमिन रहेको स्थानमा फोहोर फाल्ने पोखरी रहेको र त्यसलाई आफूले अहिलेको अवस्था मा ल्याएको उनले जानकारी दिए। स्काउटकै तत्कालीन कार्यसमितिको अनुरोधमा आफूले यो स्थान भाडामा लिएको उनले बताए। त्यसपछि अन्य व्यवसायी यहाँ आएको उनले जानकारी दिए। अहिले खड्का ल्यान्डले उक्त जमिन र त्यहाँ बनाइएका संरचनावापत मासिक करिब २० लाख रुपैयाँ भाडा तिरिरहेको उनले जानकारी दिए। र, दरबारमार्गकै जति भाडा बुझाइरहेको जानकारी पनि खड्काले दिए।
यस्तै, खड्का ल्यान्ड डेभलपमेट प्रालिले सम्झौताबमोजिम व्यवसाय सञ्चालन गर्दै आए पनि नेपाल स्काउटले आफ्नो स्वार्थको लागि काममा अवरोध पुर्याएको बताएको छ।
पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी निर्देशक सेवक पोखरेलले कम्पनीले सम्झौताबमोजिम व्यवसाय सञ्चालन गरे पनि स्काउटको वर्तमान नेतृत्वले आफ्नो व्यक्तिगत स्वार्थका लागि पटक-पटक काममा अवरोध पुर्याएको जनाएका हुन्।
‘सम्झौता बमोजिम आफ्नो व्यवसाय सञ्चालन गर्दै आएपनि नेपाल स्काउटको वर्तमान नेतृत्वले आफ्नो व्यक्तिगत स्वार्थका लागि हामीले सञ्चालन गर्दै आएको कामप्रति अवरोध पुर्याफउँदै आएको कुरा यसअघिका घटनाक्रम बाट पनि छर्लङ्गै छ’ पोखरेलले भने ,’निश्चित समयका लागि सञ्चालन गर्न बनाईएका संरचनालाई विना सूचना भत्काउन खोज्ने, भाडामा बस्नेलाई धम्क्याउने, तर्साउने, दुःख दिने, हाम्रा कर्मचारीलाई दुःख दिने, ढल,पानी बत्ती काटी दिने तथा मुल गेटमा तालाबन्दी गरीदिने जस्ता अमानवीय कार्यहरु गर्दा समेत यस प्रा.लि.ले सम्झौता अवधिभर निर्वाध ढङ्गले व्यवसाय गर्न दिन पटक–पटक स्काउटसँग अनुरोध गर्दै आएको छ यद्यपी हाम्रो अनुरोध कहिल्यै सुनिएन ।’
यसरी पटक-पटक दुःख दिएपछि प्रालिले अदालतमा निवेदनसमेत दिएको थियो। हाल उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन छ। अदालतमा विचाराधीन रहेको विषयलाई समेत प्रभावित पार्ने खोजिएको उनले आरोप लगाए।