वासन्ती नवरात्र : शक्तिस्वरूपा भगवतीको आराधना गरी चैतेदशैं मनाइँदै

Yangle News
Yangle News
२०८१ चैत्र २३ गते
वासन्ती नवरात्र : शक्तिस्वरूपा भगवतीको आराधना गरी चैतेदशैं मनाइँदै

आज चैत्र शुक्ल अष्टमी । शनिबार शक्तिस्वरूपा भगवतीको आराधना गरी चैतेदशैं पर्व मनाइँदै छ ।

चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ । शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ । नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा मात्र देवीको आराधना गर्छन् ।

वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन् । यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र भने धेरै प्रचलनमा छैन ।

आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैंलाई बडादसैँ भनिन्छ । बडादसैंमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।

चैते दसैंमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दसैंघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिएको हो ।

बडादसैं जस्तै चैते दसैंको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वादन लिनु हो । बडादसैंमा जस्तै चैते दसैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । चैतेदशैंका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ । नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ ।

काठमाडौंमा गुह्येश्वरी, भद्रकाली, शोभाभगवती, नक्सालभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोकभगवती, सिन्धुपाल्चोकमा पाल्चोक भगवती गोरखामा मनकामना, बाँकेमा बागेश्वरीगायत शक्त्तिपीठमा बिहानैदेखि घुइँचो लागेको छ ।