वाणिज्य बैंकहरुको खुद मुनाफा घट्यो

Yangle News
Yangle News
२०८२ अशोज १ गते
वाणिज्य बैंकहरुको खुद मुनाफा घट्यो

चालु आर्थिक वर्षको पहिलो महिना वाणिज्य बैंकको खुद मुनाफा साढे ८ प्रतिशतले घटेको छ । गत साउनमा वाणिज्य बैंकहरुले ८ अर्ब ३८ करोड ३० लाख रुपैयाँ खुद मुनाफा गरेका छन् ।

गत आवको साउन महिनामा भने वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए । चालु आवको साउन गत आवको साउन महिनाको तुलनामा ८ दशमलब ६४ प्रतिशतले नाफा गिरावट आएको राष्ट्र बैंकले जनाएको छ ।

तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकमध्ये चालु आवको साउन महिनामा ११ वटा बैंकको मुनाफामा अघिल्लो आवको साउन महिनाको तुलनामा गिरावट आएको छ भने ९ वटा बैंकको नाफामा वृद्धि देखिएको छ । कृषि विकास बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । गत आवको ७१ करोड २१ लाख रुपैयाँ खुद मुनाफा गरेको चालु आवको पहिलो महिना ३७ लाख ५० हजार रुपैयाँ मात्रै खुद मुनाफा गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ९९ दशमलब ४७ प्रतिशतले ऋणात्मक हो ।

त्यसैगरी, एनएमबी बैंकको मुनाफा साउन महिनामा ५२ दशलब ३२ प्रतिशतले घटेको छ । गत वर्षको साउनमा ३३ करोड ३३ लाख रुपैयाँ रहेको एनएमबी बैंकको नाफा चालु आवको साउन महिनामा १५ करोड ८९ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।

त्यसैगरी, प्रभु बैंकको ४३ दशमलब ८१ प्रतिशत, हिमालयन बैंकको ३० दशमलब ४६ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेसनलको २० दशमलब ४० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १२ दशमलब ८० प्रतिशत, ग्लोबल आईएमई बैंकको १२ दशमलब ०९ प्रतिशत, नबिल बैंकको १० दशमलब ८३ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ८ दशलब ९६ प्रतिशत, कुमारी बैंकको २ दशमलब २० प्रतिशत तथा प्राइम कमर्सियल बैंकको शून्य दशमलब १२ प्रतिशतले गत आवको साउन महिनाको तुलनामा चालु आवको साउनमा नाफा घटेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

यता नेपाल बैंक गत वर्षको साउन महिनाको तुलनामा १४६.७६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ५४.८० प्रतिशत, माछापुच्छ्रे बैंक ३०.९८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १९.९२ प्रतिशत, सिद्धार्थ बैंक १५.०४ प्रतिशत, एभरेष्ट बैंक १४.४१ प्रतिशत, नेपाल एसबीआई बैंक ९.८१ प्रतिशत, एनआईसी एसिया बैंक ९ दशमलब २५ प्रतिशत र सानिमा बैंक १.९८ प्रतिशतले बढेको छ ।

चालु आवको साउन महिना भरिमा वाणिज्य बैंकहरुले ८ अर्ब ३८ करोड रुपैयाँ मुनाफा गरेकोमा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले ७८ करोड ४५ लाख रुपैयाँ कमाएको छ । त्यसैगरी नबिल बैंकले साउन महिनामा ७१ करोड ६४ लाख रुपैयाँ कमाएर दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानमा नेपाल एसबीआई बैंक रहेको छ । एसबीआई बैंकले साउन महिनामा ६३ करोड ४२ लाख रुपैयाँ कमाएको छ । चौथो धेरै नाफा कमाउने बैंकमा भने राष्ट्रिय वाणिज्य बैक रहेको छ । यो बैंकले ५५ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ भने पाँचौ धेरै नाफा कमाउने बैंकमा भने नेपाल बैंक रहेको छ । नेपाल बैंकले साउन महिनामा ५५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । प्राइम कमर्सियल बैंकले पनि ५० करोड ५ लाख लाख रुपैयाँ कमाएको छ ।

कुमारी बैंक, एभरेष्ट बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक र सिद्धार्थ बैंकले ४० देखि ५० करोडको बीचमा नाफा कमाएका छन् । त्यस्तै लक्ष्मी सनराईज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकले ३० देखि ४० करोडको बीचमा खुद मुनाफा कमाएका छन् ।

सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंकले २६ देखि २७ करोडका बीचमा नाफा कमाएका छन् भने एनएमबी बैंकको साढे १५ करोड रुपैयाँ मुनाफा रहेको छ । सबैभन्दा कम मुनाफा ३८ लाख रुपैयाँ मात्रै कमाउने बैंकमा कृषि विकास बैंक रहेको छ ।