घरजग्गा कारोबारमा वृद्धि, मोरङ र झापामा सबैभन्दा धेरै

Yangle News
Yangle News
२०८२ बैशाख ३ गते
घरजग्गा कारोबारमा वृद्धि, मोरङ र झापामा सबैभन्दा धेरै

चालु आर्थिक वर्षको चैत महिनामा घरजग्गा कारोबार बढेको छ ।

भूमि व्यवस्थान तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनामा ४९ हजार आठ सय ३२ वटा लिखत पारित भएको हो । जुन कारोबार चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा बढी हो ।

सो महिनामा भएको घरजग्गा कारोबारबाट सरकारले तीन अर्ब २९ करोड दुई लाख २२ हजार दुई सय २९ रुपैयाँ पुँजीगत लाभकर र चार अर्ब ३९ करोड ४६ लाख ८६ हजार आठ सय ७६ रुपैयाँ कुल राजस्व आम्दानी गरेको छ ।

चैत महिनामा देशैभरीमा मोरङ र झापा जिल्लामा सबैभन्दा धेरै घरजग्गा कारोबार भएको छ । सो महिनामा मोरङमा ३२ सय १५ र झापा जिल्लामा २६ सय ६७ वटा घरजग्गा कारोबार भएको छ ।

विभागको तथ्यांकअनुसार सरकारले घरजग्गा कारोबारबाट चालु आवको साउन महिनामा एक अर्ब ३४ करोड ६९ लाख, भदौ महिनामा एक अर्ब १३ करोड १५ लाख, असोज महिनामा एक अर्ब ११ करोड ६२ लाख, कात्तिक महिनामा ९३ करोड ७७ लाख र मंसिर महिनामा एक अर्ब ३१ करोड ६३ लाख रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको थियो ।

त्यस्तै, पुस महिनामा एक अर्ब ६० करोड ८३ लाख २८ हजार १७२ रुपैयाँ, माघ महिनामा एक अर्ब ४५ करोड ५५ लाख ८८ हजार २०९ रुपैयाँ र फागुन महिनामा एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार पुँजीगत लाभकर आम्दानी गरेको थियो ।