चार महिनामा १ अर्ब ९० करोड रुपैयाँको अलैंची निर्यात

Yangle News
Yangle News
२०८१ मंसिर २६ गते
चार महिनामा १ अर्ब ९० करोड रुपैयाँको अलैंची निर्यात

 

यो आर्थिक वर्षको चार महिनामा १ अर्ब ९० करोड ११ लाख ३३ हजार रुपैयाँको अलैंची निर्यात भएको छ । भन्सार विभागका अनुसार चार महिनामा १२ लाख ६ हजार २५० किलो अलैंची निर्यात भएको हो ।

गत आर्थिक वर्षको चार महिनाको तुलनामा यो २५ करोड ४९ लाख ६२ हजार रुपैयाँले कम हो । गत वर्षको पहिलो चार महिनामा २ अर्ब १५ करोड ६० लाख ९५ हजार रुपैयाँको अलैंची निर्यात भएको थियो । विभागका अनुसार उक्त अवधिमा १७ लाख ३७ हजार ११० किलो अलैंची निर्यात भएको थियो ।

विभागको तथ्यांकले परिमारण र मूल्यका आधारमा अलैंची निर्यात घटेको देखाए पनि विगत दुई वर्षयता उत्पादन समेत घटेको नेपाली अलैंची व्यवसायी महासंघले जनाएको छ । अलैंची उत्पादन ५० प्रतिशतले घटेकाले मूल्य भने १० वर्षपछि बढेको महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए । यसपटक अलैचीको मुल्य प्रतिमन १ लाख ७ हजारसम्म पुगेर हाल सरदर प्रतिमन १ लाख ५ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।

पछिल्ला तीन वर्षयता समयमा पानी नपर्ने, नचाहिने बेला पानी पर्नेलगायत विविध कारण अलैंची उत्पादन घटिरहेको महासंघले जनाएको छ । अलैंची पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत हो । हालसम्म ४३ जिल्लामा अलैंची उत्पादन हुँदै आएको महासंघले जनाएको छ । मुलुकमा उत्पादन भएको अलैंचीमध्ये २ प्रतिशत मात्रै आन्तरिक खपत हुने व्यवसायी बताउँछन् । बाँकी अलैंची निर्यात हुने गरेको छ ।